राहत र उद्धारका लागि तीब्रता दिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरो प्रभावितहरूलाई तत्काल राहत र उद्धारकार्य तदारूगताका साथ अघि बढाउन निर्देशन दिएका छन्।
बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका लागि पूर्वी नेपाल पुगेका प्रधानमन्त्री प्रचण्डले संखुवासभाको तुम्लिङटारमा सरोकारवालाहरूलाई यस्तो निर्देशन दिएका हुन्।
यो क्रममा प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग बाढीपहिरो प्रभावितका लागि भइरहेको राहत र उद्धारसम्बन्धी गतिविधिबारे जानकारी लिएका छन्।
उनले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा तीब्रता दिन जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिँदै अन्य स्वयंसेवी संघसंस्थालाई पनि सहयोगका लागि अपिल गरे।
सडक सञ्जाल जोड्न बेलिब्रिज, घरबारविहीनलाई तत्काल स्थानान्तरण र भोलिको आवासका लागि व्यवस्था मिलाउन आवश्यक्ताअनुसार सरकारले तदारूकताका साथ काम गरिरहेको उनले जानकारी गराए।
‘म अस्तिमात्र मेलम्ची गएको थिएँ, त्यहाँ जसरी आकस्मिक बाढीले धनजनको क्षति भएको थियो, यहाँ पनि त्यसरी नै आकस्मिकरूपमा प्रकोप देखियो। राहत र उद्धार कार्यका लागि सरकार गम्भीर भएर अगाडि बढेको छ,’ प्रचण्डले भने।