post-slider post-slider

दुईपटकको विश्व च्याम्पियन विश्वकपबाट ‘आउट’

Image
A A

काठमाडौं- वेस्टइन्डिजको टिम यसपालि भारतमा हुन लागेको विश्वकप क्रिकेटमा खेलिरहेको देखिने छैन।

यो त्यो टिम हो जसका कारण क्रिकेटका प्रशंसकहरू १९७५ र १९७९ लाई अहिलेसम्म सम्झिने गरेका छन्।

क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकपमा वेस्टइन्डिजले लगातार दुईपटक उपाधि जितेर विश्वभर आफ्नो धाक जमाएको थियो।

त्यो बेला कप्तान क्लाइव लोयड थिए र टिममा विव रिचर्डस, एल्विन कालिचरण, रोहन कन्हाइ र माइकल होल्डिङजस्ता दिग्गज खेलाडीहरू थिए।

सन् १९८३ मा विश्वकप फाइनलमा वेस्टइन्डिजको प्रतिस्पर्धा भारतसँग थियो।

विश्वकप भारतले जित्यो तर लगातार तेस्रोपटक फाइनलमा पुगेर वेस्टइन्डिज टिमले क्रिकेटको दुनियाँमा आफ्नो मजबुत उपस्थिति दर्ज गराउन सफल भयो।

समय बित्यो, खेलमा परिवर्तन आयो र वेस्टइन्डिज टिमको प्रदर्शन पनि खस्किँदै गयो।

आज स्थिति यस्तो बनेको छ कि विश्वकप प्रतियोगिताको ४८ वर्षको इतिहासमा यो टिम पहिलोपटक बाहिरिएको छ।

मैल्कम मार्शल, कर्टने वाल्स, ब्रायन लारा, शिवनारायण चन्द्रपाल, क्रिस गेल, किरोन पोलार्ड र ड्वेन ब्रावोजस्ता खेलाडीले खेलेको टिमको यो अवस्था देखेर क्रिकेट प्रशंसकहरू हैरान छन्।

विश्वकप प्रतियोगिताका लागि सोझै प्रवेश पाउने ८ टिममा वेस्टइन्डिजले आफ्नो स्थान सुनिश्चित गर्न सकेन। विश्वकपमा स्थान सुनिश्चित गर्न उसलाई क्वालिफायर म्याच खेल्नुपर्ने बाध्यता भयो।

क्वालिफायर म्याचमा स्कटल्यान्डले वेस्टइन्डिजलाई सात विकेटले पराजित ग¥यो। र, यो हारका साथै वेस्टइन्डिज टिम विश्वकप २०२३ बाट बाहिरिएको छ।

सुपर–६ राउन्डअन्तर्गत शनिबार भएको म्याचमा स्कटल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय ग¥यो। पहिले ब्याटिङ गरेको वेस्टइन्डिज १८१ रनमै आलआउट भयो।

१८२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको स्कटल्यान्डले ४३.३ ओभरमा तीन विकेट गुमाएर १८५ रन बनाएर जित हासिल ग¥यो।

स्कटल्यान्डका तर्फबाट बै्रन्डन मैकमुलनले पहिलो इनिङमा तीन विकेट लिए र दोस्रो इनिङमा ६९ रन बनाए।

मैकमुलनलाई यो योगदानका लागि प्लेयर अफ द मैच चयन गरियो।

विश्वकपबाट बाहिरिएपछि वेस्टइन्डिजका कप्तान शाइ होपले हारको जिम्मेबारी लिए।

पूरा प्रतियोगितामा फिल्डिङ वेस्टइन्डिज टिमका लागि सबैभन्दा कमजोर कडी साबित भयो। वेस्टइन्डिजले पहिले क्याच छोड्यो र पछि म्याच पनि छुट्यो।

टेस्ट मान्यताप्राप्त वेस्टइन्डिज आइसिसी एसोसिएट टिम स्कटल्यान्डसँग पराजय भोग्नुप¥यो। तर, प्रतियोगितामा यो पहिलोपटक भएको होइन।

यो भन्दा अघिल्लो म्याचमा वेस्टइन्डिज टिम नेदरल्यान्ड्ससँग हारेको थियो। नेदरल्यान्ड्स पनि एसोसिएट टिम हो।

 

 

Tags: