post-slider post-slider

कोसी सरकार गठन प्रक्रियामा तटस्थ बस्ने राप्रपाको निर्णय

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोसी प्रदेसको सरकार निर्माण प्रक्रियामा तटस्थ बस्ने भएको छ।

सरकार गठन प्रक्रियालाई लिएर शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो।

राप्रपाका महामन्त्री धवलशम्शेर राणाले कोसी प्रदेसको सरकार निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय बैठकले गरेको जानकारी दिए।

कोसीमा दुवै पक्षले बहुमत रहेको दाबी गरेकोले राप्रपाको आवश्यक्ता नभएको बैठकले निष्कर्ष निकाले उनले बताए।

‘कोसीमा कांग्रेस र एमाले मिलेपछि हाम्रो केही जरूरी नै भएन, हामी सरकार निर्माण प्रक्रियामा भाग लिँदैनौं,’ राणाले आयोमेलसँग भने,‘सरकार निर्माण प्रक्रियामा पनि भाग लिँदैनौं, सरकारमा पनि सहभागी हुँदैनौं।’

कोसीमा विकसित राजनीतिक घटनालाई लिएर राप्रपाले गम्भीर समीक्षा गरेको उनले बताए।

आफूहरूले पहिलेदेखि कांग्रेस र एमाले मिल्नुपर्ने भन्दै आएको बताउँदै उनले विश्वासको मत लिनेबेला आफूहरूको आवश्यक्ता भए त्यो बेला उपयुक्त निर्णय हुने जिकिर गरे।

कोसी प्रदेसमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि बढाउने निर्णय गर्दा नेपाली कांग्रेसका नेता शेखर कोइरालानिकट आठ सांसद नेकपा एमालेसँग मिलेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

बिहीबार साँझ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका आङ्बो र कांग्रेसका केदार कार्कीले प्रदेस प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

कार्कीको पक्षमा कांग्रेसका ८ र एमालेका ३९ सांसदले दाबीपत्रमा हस्ताक्षर गरेका छन् भने आङ्बोले पेस गरेको दाबीपत्रमा गठबन्धन दलका संसदीय दलका नेताहरूले हस्ताक्षर गरेका छन्।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेसको मुख्यमन्त्री नियुक्त गर्न बल अब प्रदेस प्रमुखको ‘कोर्ट’ मा पुगेको छ।

 

Tags: