post-slider post-slider

दूध किसानले ६ अर्ब भुक्तानी पाएनन्, आन्दोलनको घोषणा

Image
A A

काठमाडौं - किसानहरूले दुधको रकम भुक्तानी र बिक्री-वितरण सहजीकरण गर्न माग गर्दै आन्दोलनको घोषणा गरेका छन्।

दुग्ध उत्पादक किसानका विभिन्न संघ-संस्थाहरूले बिहीबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विभिन्न १६ बुँदे मागका साथ आन्दोलनको घोषणा गरेका हुन्।

उनीहरूले केही समयदेखि उत्पादित दुधमध्ये प्रतिदिन पाँचदेखि ६ लाख लिटर दुध बिक्री-वितरण हुन नसकेको अवस्थामा बिक्री गरिएको दुधको करिब ६ अर्ब बराबरको बक्यौता रकम दुग्ध विकास संस्थानलगायत निजी डेरी उद्योगहरूले किसानलाई नदिएको जनाएका छन्।

उनीहरूले दुधको बाँकी बक्यौता भुक्तानी हुनुपर्ने, किसानले उत्पादन गरेको दुध खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने, दुधको बिक्री मूल्य निर्धारण हुनुपर्ने, बिक्री नभएको दुधलाई पाउडर बनाएर देशलाई मिल्क होलिडे हुनबाट रोक्नुपर्ने, बिमित किसानहरूको बिमा रकम भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। आफूहरूको माग पूरा गर्न शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने, देशभरका प्रशासन कार्यालयमा धर्नासहित ज्ञापन पत्र बुझाउने, मुख्य राजमार्गहरूमा चक्काजाम गर्ने र फागुन २१ गतेदेखि निरन्तर रूपमा माइतीघरमा धर्नासहित विरोध कार्यक्रम गर्ने नेपाल दुग्ध व्यवसायी संघका अध्यक्षका अध्यक्ष विश्वराज घिमिरेले जानकारी दिए।

पत्रकार सम्मेलनमा केन्द्रीय दुग्ध सहकारी संघ नेपालका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बजारमा पठाइएको दुधको बक्यौता उठ्न नसकिएको बताए। उनले दुध किसानहरू अहिलको अवस्थामा मर्कामा परेको भन्दै राज्यले ध्यान दिनुपर्ने धारणा राखे।

सहकारीले दैनिक १२ लाख लिटर संकलन गरी वितरण गरिरहेको अवस्थामा अहिले दुध नै बिक्री हुन नसकेकाले सडकमा जान बाध्य भएको उनले बताए।

अहिले दुध उत्पादन क्षेत्रमा कहिल्यै नदेखिएको समस्या उत्पन्न भएको उनले गुनासो गरे।

त्यस्तै, उनीहरूले नेपालभन्दा भारतमा दुध सस्तो हुँदा सिमावर्ती नाका भएर दुध भित्रिँदा पनि नेपाली दुधको बजार घटेको जनाएका छन्। नेपालमा हाल ६५ देखि ७० लाख लिटर दुध उत्पादन हुने गरेको तथ्याङ्क छ भने करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दुग्ध किसानहरू संलग्न छन्।

Tags: