post-slider post-slider

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ।

आइतबार नगरसभाको बैठकमा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रूपैयाँ विनियोजन गरिएको छ।

चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ ६६.२८ प्रतिशत छुट्याइएको हो।

बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको बजेटमा उल्लेख छ। उपप्रमुख डंगोलले प्रस्तुत गरेको बजेटअनुार महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रूपैयाँ रहेको छ।

त्यस्तै संघीय सरकार र प्रदेस सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रूपैयाँ प्राप्त हुने महानगरको अनुमान छ।

महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवका योजनाका लागि ३ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ। त्यस्तै महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ।

महानगरले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रूपैयाँ विनियोजन गरेको छ।

महानगरले आगामी आर्थिक वर्षमा थप ८०३ नयाँ कर्मचारीलाई करारमा लिने भएको छ।

क्षेत्रगत विषयको जनशक्ति अभावलाई तत्काल परिपूर्ति गर्न महानगरले करारमा कर्मचारी भर्ना गर्ने भएको हो।

 

Tags: