post-slider post-slider

बालकुमारी घटनाबारे सांसदहरूले प्रश्न उठाएपछि जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

Image
A A

काठमाडौँ - सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले बालकुमारी घटनालाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए। साथै सांसदहरूले संसद अवरोध गरेपछि सभामुख घिमिरेले सरकारलाई उक्त घटनाबारे जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्।

पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासमेत दोषी देखिएको प्रतिवेदन बुझाइएको थियो। जाँचबुझ आयोगले बुझाएको उक्त प्रतिवेदनअनुसार मन्त्री ज्वालाले तत्काल राजीनामा दिनुपर्ने सांसदहरूले माग गरेका हुन्।

संसद्‌मा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए।

संसद्‌ अवरोधपछि सभामुख घिमिरेले भने, ‘यी विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ। माननीय सदस्यहरूसँग कुरा राखिसकेको छु। मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु। आज पनि त्यही विषय उठेको छ। प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यान आकर्षण गराउँछु। शून्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरूमा राज्यले उपयुक्त ढंगबाट जवाफ दिनुपर्छ।’

Tags: