post-slider post-slider

क्रिकेट खेलाडीले अझै पाएनन् प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार रकम

Image
A A

काठमाडौं- नेपाली क्रिकेट टोलीले गत वर्ष फागुनमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत भएको त्रिदेशीय श्रृंखला जितेर इतिहास रच्यो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय श्रृंखलामा नेपालले क्लीन स्वीप गरेको थियो।

प्रधानमन्त्री पुष्कपकमल दाहाल ‘प्रचण्ड’ ले विजेता खेलाडीलाई बालुवाटार बोलाएर बधाइदिँदै विजेता खेलाडीलाई प्रति व्यक्ति दुई–दुई लाख रूपैयाँ पुरस्कार दिने घोषणा गरे।

‘तपाईंहरूको कारण देशकै गौरव र प्रतिष्ठा बढेको छ। म सबै नेपालीहरूका तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्दछु। तपाईंहरूलाई फेरि पनि सफलता मिलोस्। आउने प्रतिस्पर्धाका लागि शुभकामना छ,’ प्रचण्डले विजेता खेलाडीहरूलाई भनेका थिए,‘तपाईंहरूलाई प्रेरणा मिलोस् भनेर मैले नेपाल सरकारका तर्फबाट प्रति खेलाडी दुई लाख पुरस्कार दिने घोषणा गर्दछु।’

चैत महिनामा युएईलाई पराजित गरेर नेपाल विश्वकप क्वालिफायरमा प्रवेश ग¥यो।

युएईलाई ९ रनले पराजित गरेर नेपाल एकदिवसीय विश्वकप क्रिकेटको छनोटमा प्रवेश गरेको थियो।

युएईसँग नेपाली टोलीले प्रतिस्पर्धा गरिरहँदा खेलाडीहरूलाई हौसला दिन तथा खेल हेर्न प्रधानमन्त्री प्रचण्ड आफैं कीर्तिपुर पुगेका थिए।

नेपाली टोली विश्वकप क्वालिफायरमा प्रवेश गरिसकेपछि प्रचण्डले खेलाडीहरूका लागि दोस्रोपटक पुरस्कारको घोषणा गरे।

‘विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ,’ प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डलमा लेखिएको थियो।

नेपाली टोलीले एसिसी प्रिमियर कपको उपाधि हात पारेपछि सरकारले वैशाखमा विजेता खेलाडीलाई पुरस्कारको घोषणा ग¥यो।

२० वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रूपैयाँ र अफिसियललाई जनही ३ लाख रूपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको थियो।

फाइनलमा युएईलाई हराउँदै नेपाल एसिसी प्रिमियर कप विजेता बनेर एसिया कप क्रिकेटमा छनोट भएको थियो।

खेलकुद पुरस्कार कार्यविधिअनुसार एसिसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीले जनही ५ लाख रूपैयाँ पुरस्कार पाउने थिए। 

मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख थपेर पुरस्कारको घोषणा गरेको थियो।

पाकिस्तान र श्रीलंकामा भएको एसिया कपमा सहभागी भएर नेपाली टोली फर्किएर एसियन गेम्समा भाग लिन आइतबार चीन प्रस्थान गरेको छ। एसिया कपको उपाधि भारतले हात पारेको छ।

तर, प्रधानमन्त्री र सरकारको तहबाट घोषणा भएका पुरस्कार राशी क्रिकेट खेलाडीहरूले अझै पाउन सकेका छैनन्।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म हात नपरेको बताएका छन्।

एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि काठमाडौंमा बिदाइपछि पत्रकारहरूमाझ पौडेलले यस्तो बताएका हुन्।

यद्यपि सबै खेलाडीले पुरस्कार रकम पाउनेमा आफूहरू आशावादी रहेको उनले सुनाए।

‘सरकारले घोषणा गरेको रकमका लागि कतिपटक भनिसकेका छौं, अहिलेसम्म आएको छैन। आउँछ भनेर आशावादी छौं। हेरौं के हुन्छ,’ कप्तान पौडेलले भने।

प्रचण्डले भनेका थिए–मन्त्रिपरिषदबाट भोलि नै निर्णय हुन्छ

प्रधानमन्त्री प्रचण्डले भोलि बस्ने मन्त्रिपरिषद बैठकले खेलाडीहरूको घोषित पुरस्कार रकम निकासा गर्ने २८ भदौमा बताएका थिए।

एसियाडमा जाने खेलाडीहरूको बिदाइ कार्यक्रममा सहभागी प्रचण्डले यसअघि घोषणा भएको पुरस्कार आजसम्म पनि नपाएको भन्ने आफूलाई जानकारी रहेको बताएका थिए।

प्राविधिक र नीतिगत कारणले पुरस्कार रकम वितरणमा ढिलाइ भएको उनको भनाइ थियो।

‘केही प्राविधि, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु। नियमावलीको अभावका कारण निकासामा ढिलाइ भएको छ। तर, अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट आज बिहीबारमात्र खेलकुद मन्त्रालयमा पुगेको छ। भोलिको क्याबिनेटबाट पैसा निकासा हुन्छ।’

 

 

Tags: