post-slider post-slider

इजरायल–हमास युद्ध ः संघर्षविराम ‘थप दुई दिन’, तर इजरायल मौन

Image
A A

काठमाडौं- हमास र इजरायलबीचको अस्थायी संघर्षविरामअन्तर्गत लगातार चौथो दिन पनि इजयारी बन्धक र प्यालेस्टिनी कैदीहरू साटासाट गरिएको छ।

स्थानीय समयअनुसार सोमबार मध्यरातमा इजरायली जेलबाट थप ३३ जना प्यालेस्टिनीहरूलाई रिहा गरिएको हो।

त्यसअघि हमासले फ्रान्स, जर्मनी तथा अर्जेन्टिनाका दोहोरो नागरिकता भएकासमेत थप ११ जना इजरायली बन्धकहरूलाई मुक्त गरेको थियो।

त्यसरी मुक्त हुने इजरायलीहरूमा तीन वर्षीय जुम्ल्याहा पनि छन्।

हमासले मुक्त गरेका इजरायलीको संख्या ५० भन्दा बढी भएको इजरायलले जनाएको छ।

इजरायलले मुक्त गरेका प्यालिस्टिनी कैदी बन्दीहरूमा थप ३० जना बालबालिका र तीन जना महिलाहरू रहेको दाबी गरिएको छ।

हमासले बन्धकहरू छाडिरहेको भए पनि उसको नियन्त्रणमा रहेको भनिएका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन।

अधिकारीहरूले उनलाई छुटाउन पहल भइरहेको बताएका छन्। नेपालले इजिप्टलाई पनि पत्र लेखेर उनको मुक्तिका लागि पहल गरिदिन आग्रह गरेको बताइएको छ।

गाजामा सहायता सामग्री बोकेका थप ट्रकहरू त्यहाँ प्रवेश गरेका छन्् भने कतिपय प्रवेशको तयारीमा छन्।

संयुक्त राष्ट्रसंघसहित सहायता निकायहरूले त्यहीँ पर्याप्त मात्रामा मानवीय सहायता पु¥याउन संघर्षविराम बढाउनुपर्ने बताएका छन्।

चारदिने अस्थायी संघर्षविराम सकिनै लागेको बेलामा कतारी मध्यस्थकर्ताहरूले यो अस्थायी युद्धविराम मंगलबार र बुधबार गरी थप दुई दिन बढाइएको घोषणा गरेका छन्।

ह्वाइट हाउसले पनि त्यसलाई पुष्टि गरेको छ। तर, इजरायलले हालसम्म त्यसबारे आधिकारिक रूपमा केही भनिसकेको छैन।

अमेरिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन कर्बीले हमासले थप गरिएको दुई दिनको समयमा थप २० जना महिला र बालबालिकाहरू मुक्त हुने प्रतिबद्धता जनाएको बताएका छन्।

 

Tags: