post-slider post-slider

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआराई परियोजना अन्तर्गत : चिनियाँ राजदूत

Image
A A

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत रहेको बताएका छन्।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय विमान अवतरणपछि आयोजित कार्यक्रममा सोङले यस्तो बताएका हुन्।

यसअघि विमानस्थलको उदघाटन कार्यक्रममा पनि उनले पोखरा विमानस्थल बीआरआई परियाजनाअन्तर्गत निर्माण गरिएको बताएका थिए।

करिब २२ अर्बको लगानीमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीन सरकारको एक्जिम बैंकले ऋण सहयोग गरेको छ।

चिनियाँ राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताए।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो। चाइनिज इन्जिनियरहरूबाट यो निर्माण भएको हो,’ उनले भने,‘अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौं। यो बीआरआई परियोजनाअन्तर्गतको हो।’

नेपाल सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसीबीचको सम्झौतापछि २०७३ साउन १८ देखि विमानस्थलको निर्माण थालिएको थियो।

सिएएमसीइसँग भ्याटसहित अमेरिक डलर २४ करोड ४० लाख ४० हजारमा निर्माण सम्झौता भएको थियो।

पोखरा विमानस्थल निर्माणका लागि सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ।

 

Tags: