post-slider post-slider

भारत कसरी बन्दैछ विश्वको तेस्रो ठूलो अर्थतन्त्र?

Image
A A

काठमाडौं- राजधानी नयाँदिल्लीको प्रगति मैदानमा ‘भारत मण्डपम’ को उदघाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारको तेस्रो कार्यकालमा भारत विश्वका तीन ठूला अर्थतन्त्रमा पर्ने भनेर आश्वस्त पारे।

भारत अहिले विश्वको पाँचौं ठूलो अर्थतन्त्र हो।

यस्तो अवस्थामा सन् २०२४ मा हुन लागेको आम चुनाव जितेर मोदी प्रधानमन्त्री बने भने उनको सरकारसँग सन् २०२९ सम्मको समय हुनेछ।

लाइभ मिन्टका अनुसार अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत गत वर्ष अक्टोबरमा भारत सन् २०२७–२८ सम्म विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको थियो।

आइएमएफसँगै विश्व वित्तीय फर्म मोर्गन स्टेन्लीले पनि सन् २०२७ सम्म अमेरिका र चीनपछि भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरेको छ।

हाल जापानको अर्थतन्त्र विश्वमा तेस्रो स्थानमा छ।

मोदीको कार्यकालमा अर्थतन्त्र कहाँबाट कहाँ पुग्यो?

प्रधानमन्त्री मोदीको कार्यकालमा भारतको अर्थतन्त्र विश्वको दसौं ठूलोबाट पाँचौं ठूलो बनेको छ। 

यसको कारण के हो?

कुनै पनि देशको अर्थतन्त्रको आकारको मापदण्ड त्यो देशका कुल गार्हस्थ उत्पादन अर्थात जिडिपी हो। र, पछिल्लो ९ वर्षमा भारतको जिडिपीमा ठूलो परिवर्तन आएको छ।

कांगे्रेसको कार्यकालमा २०१० मा अधिकतम जिडिपी वृद्धिदर ८.५ प्रतिशत रहेको थियो भने कोभिडको समयमा विश्वका सबै अर्थतन्त्रजस्तै भारतमा पनि वृद्धिको साटो गिरावट आएको थियो।

भारतको जिडिपी कसरी बढ्दै छ?

सने २०१४ र २०२३ को बीचमा भारतको जिडिपीमा कुल ८३ प्रतिशतले वृद्धि भएको छ।

९ वर्षको वृद्धिदरका हिसाबले चीनको कुल गार्हस्थ्य उत्पादन ८४ प्रतिशतले बढेपछि भारत चीनभन्दा एक प्रतिशतले मात्र तल रहेको छ।

त्यसैगरी, यी ९ वर्षमा अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा वृद्धिदर ५४ प्रतिशत थियो।

तर, यी तीन अर्थतन्त्रबाहेक जिडिपीका हिसाबले शीर्ष दश देशमध्ये केहीको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर कम भएको छ वा बढेको छैन।

यस अवधिमा भारत पाँच देशलाई पछि पार्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको छ।

जसमध्ये ब्रिटेन, फ्रान्स र रूसको कुल गार्हस्थ्य उत्पादन वृद्धि दर क्रमशः तीन, दुई र एक प्रतिशत थियो।

उही समयमा इटलीको जिडिपी वृद्धिदर बढेको छैन। ब्राजिलको जिडिपीमा १५ प्रतिशतको संकुचन देखिएको छ।

यस्तो अवस्थामा भारतीय अर्थतन्त्रमा देखिएको तीव्र वृद्धि यी देशको तुलनामा मात्रै तीव्र देखिन्छ। त्यसो भए यी सबै विकसित देशको अर्थतन्त्रमा त्यस्तो गतिमा वृद्धि नहुनुको कारण के थियो?

त्यसको एउटा कारण सन् २००८–०९ को विश्वव्यापी आर्थिक संकट पनि हो। किनभने एकातिर यो आर्थिक संकटले पश्चिमा मुलुकहरूको अर्थतन्त्रलाई धेरै क्षति पु¥याएको थियो।

जबकि उक्त संकटको भारतमा अपेक्षाकृत रूपमै कम प्रभाव परेको थियो।

भारतको कुल गार्हस्थ्य उत्पादन हालको औसत ६–७ प्रतिशतको दरले वृद्धि भइरह्यो भने पनि उसले जर्मनी र जापानलाई पछि पार्दै सन् २०२७ सम्म विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्नेछ।

किनभने ६–७ प्रतिशतको वृद्धि ती देशहरूका लागि लगभग असम्भव छ। जर्मनी र जापानको वृद्धिदर क्रमशः २.५ र १ं५ प्रतिशतमात्रै छ।

अर्थतन्त्र बढ्नुको अर्थ के हो?

कुनै पनि देशको अर्थतन्त्र बढ्दा त्यहाँको जिडिपी बढ्छ। र, जिडिपी भनेको एक वर्षमा त्यस देशमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य हो।

उदाहरणका लागि यदि तपाईंले वर्षभरि खेती गर्नुहुन्छ, जसको बजार मूल्य १० लाख रूपैयाँ छ भने तपाईंको वार्षिक जिडिपी १० लाख रूपैयाँ हुन्छ।

यस्तो अवस्थामा यदि तपाईंको वार्षिक जिडिपी दश प्रतिशतले बढ्छ भने तपाईंको जिडिपी वृद्धिदर १० प्रतिशत हुन्छ।

जिडिपी बढेका कारण कम्पनीहरूले आफ्नो व्यापार बढाउन रूचाउनेछन्। विदेशी कम्पनीहरूले पनि आर्थिक वृद्धि हुने देशमा लगानी गर्छन्।

यसले नयाँ रोजगारीको अवसर सिर्जना गर्नेछ। यसले सामाका आर्थिक रूपमा उप्ल्लो वर्गदेखि मध्यम र निम्न वर्गसम्म बिस्तारै लाभान्वित हुनेछन्।

प्रतिव्यक्ति आयविना जिडिपीको जानकारी अपूर्ण

अब कुनै पनि देशको अर्थतन्त्रको प्रगतिले आम जनतालाई कस्तो असर गर्छ भन्ने कुरा बुझ्ने प्रयास गरौं।

देशको अर्थतन्त्रको वृद्धि सकारात्मक कुरा हो। तर, जिडिपी देशका आम नागरिकको मापन होइन। देशका आम जननताको समृद्धि नाप्ने मापनलाई प्रतिव्यक्ति आय मानिन्छ।

प्रतिव्यक्ति आय अर्थात जिडिपीलाई देशको कुल जनसंख्याले भाग गर्दा प्राप्त हुने रकम भनेको देशको एक व्यक्तिको एक वर्षको औसत आय हो।

यसमा अम्बानी, अदानीजस्ता भारतका अर्बपतिहरूदेखि दैनिक ज्यालादारी मजदुर, काम गर्ने पुरुष र महिलाको कमाइसमेत समावेश छ। त्यो त्यसको औसत हो।

धेरैले यो औसतभन्दा धेरै कमाउँछन्। र, धेरैले धेरै कम कमाउँछन्। यसरी यो आम मानिसको आर्थिक अवस्थाको मोटामोटी रूपरेखा हो।

जिडिपीको हिसाबले भारत आव विश्वमा पाँचौं नम्बरमा छ। तर, प्रतिव्यक्ति आयको हिसाबले भारतको स्थान विश्वको पहिलो सय देशमा पनि छैन।

यसका दुई महत्वपूर्ण कारण छन्–पहिलो भारतको विशाल जनसंख्या र दोस्रो सम्पत्तिको असमान वितरण।

भारतको सम्पत्तिको वितरण कत्तिको असमान छ भनेर जान्न परोपकारी संस्था अक्सफामको विवरण हेरे पुग्छ। जसमा भारतका एक प्रतिशत जनतासँग देशको ४० प्रतिशत सम्पत्ति रहेको उल्लेख छ।

जनताको समृद्धि कसरी थाहा हुन्छ?

पछिल्ला केही वर्षमा भारतले ब्रिटेन, इटली, फ्रान्स र ब्राजिलजस्ता अर्थतन्त्रलाई उछिनेको छ।

तर के यस अवधिमा भारतमा बसोबास गर्ने जनताको अवस्थामा सुधार आएको छ?

आर्थिक मामिलाका विज्ञ आलोक पुराणिक भन्छन्,‘जिडिपी र प्रतिव्यक्ति आय दुई फरक अवधारणा हुन्। जिडिपी त्यो देशमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य हो। अर्कोतर्फ, प्रतिव्यक्ति आय भनेको त्यो देशमा बस्ने प्रत्येक व्यक्तिको औसत आय हो। अहिले जनसंख्या बढी भएका देशमा प्रतिव्यक्ति आय कम छ। जनसंख्या कम भएका देशको प्रतिव्यक्ति आय बढी छ।’

संसारका शीर्ष अर्थतन्त्रमा नगनिने केही देशहरू छन्। तर, त्यहाँका जनताको प्रतिव्यक्ति आय अमेरिकाजस्ता शीर्ष अर्थतन्त्र भएका देशभन्दा बढी छ।

स्विटजरल्यान्ड र लक्जमबर्ग जस्ता देशहरू यस श्रेणीमा पर्छन्।

स्विटजरल्यान्डको प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलरभन्दा बढी छ भने लक्जेम्बर्गको प्रतिव्यक्ति आय एक लाखभन्दा बढी छ।

तर, ठूला अर्थतन्त्रको सूचीमा स्विटजरल्यान्ड २० औं र लक्जेम्बर्ग ७२ औं स्थानमा छ।

अहिले भारतले पछिल्लो ९ वर्षमा ब्राजिल, क्यानाडा, फ्रान्स, इटली र ब्रिटेनलाई पछि पारेको छ। तर, यी देशको प्रतिव्यक्ति वार्षिक आय भारतको भन्दा धेरै गुणा बढी छ।

भारतमा प्रतिव्यक्ति वार्षिक आय २.६ हजार अमेरिकी डलर छ भने अमेरिकामा यो संख्या ८० हजार डलरभन्दाब बढी छ।

यससँगै दसौं स्थानमा रहेको ब्राजिलको प्रतिव्यक्ति आय ९.६७ हजार अमेरिकी डलर रहेको छ।(बिबिसीबाट)

 

Tags: