इजरायल–गाजा संघर्ष : लेबनान सीमाक्षेत्रका नेपालीलाई सतर्कता अपनाउन आग्रह
काठमाडौं- इजरायलस्थित नेपाली दूतावासले लेबनानको सीमाक्षेत्रमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो।
पहिले इजरायलको दक्षिणी सीमा अर्थात गाजासँग सिमाना जोडिएका क्षेत्रमा मात्र अशान्ति भएकोमा अहिले उत्तरी क्षेत्रमा पनि रकेट प्रहारका घटना बढेको भन्दै दूतावासले नेपालीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो।
दूतावासले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको सूचनामा उत्तरी इजरायलको कि¥यात शमोनासहितका बस्तीबाट मानिसहरूलाई अन्यत्र सार्न सुरू गरेको जानकारी प्राप्त भएको भन्दै सतर्कता अपनाउन भनेको छ।
सूचनमा भनिएको छ,‘सो आसपास बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन हार्दिक अनुरोध गर्दछौं।’
सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेकालाई तत्काल दूतावासमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।
त्यस्तै दूतावासले इजरायलमा रहेका सबै नेपालीहरूलाई दूतावासको वेबसाइटमा भएको अनलाइन फारम भरेर आफ्नो विवरण दूतावासलाई उपलब्ध गराउन पनि आग्रह गरेको छ।
‘इजरायलमा बस्ने नेपालीहरूको सुरक्षाप्रति दूतावास गम्भीर छ। परिस्थिति बिग्रँदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भन्ने हेतुले दूतावासले विस्तृत विवरण संकलन गर्न लागेकोले इजरायवासी सम्पूर्ण नेपालीहरूले दूतावासको वेबसाइटमा राखिएको तथ्यांक संकलन फर्म अनिवार्य भर्नहुन हार्दिक आह्वान गर्दछौं,’ सूचनामा भनिएको छ,‘यसअघि स्वेदश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका लागि भएकोले इजरायलवासी सबै नेपालीहरूले यो अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्नुहोला।’