post-slider post-slider

एप्पलका मालिकले कुम्भ मेलाबारे लेखेको पत्र ६ करोड ९५ लाखमा लिलामी!

Image
A A

काठमाडौं - एप्पलका सह-संस्थापक स्टिभ जब्सकी श्रीमती लौरेन पावेल जब्स भारतको प्रयागराजमा आयोजना भइरहेको महाकुम्भ-२०२५ मा सहभागी हुन भारतमा छिन्।

यसैबीच, स्टिभ जब्सले सन् १९७४ मा कुम्भ मेलाको सन्दर्भमा लेखेको पत्र अहिले चर्चाको विषय बनेको छ। यो पत्रमा जब्सले कुम्भ मेलाप्रति आफ्नो रुची र भारत भ्रमण गर्ने इच्छा व्यक्त गरेका थिए।

यो हालै बोनहम्सले अमेरिकी डलर ५ लाख ३१२ (लगभग ६ करोड ९५ लाख) मा लिलामी भएको छ।

जब्सले आफ्नो बाल्यकालका साथी टिम ब्राउनलाई आफ्नो १९ औं जन्मदिन फेब्रुअरी २३ मा यो पत्र लेखेका थिए। यो चिठी बाहिर आएपछि स्टिभ जब्सकी श्रीमती पावेलले पतिको इच्छा पूरा गर्न महाकुम्भमा आएको जनाएकी छिन्।

स्टिभ जब्सले पत्रमा लेखेका छन्,  ‘म अहिले लस गाटोस र शान्ता क्रुजको बीचको पहाडमा एउटा फार्ममा बसिरहेको छु, म अप्रिलमा सुरू हुने कुम्भ मेलाका लागि भारत जान चाहन्छु। म मार्चमा केही समय जान्छु, यद्यपि अझै पक्का छैन।’

उनले पत्रको अन्त्यमा लेखेका छन् ‘ शान्ति, स्टिभ जब्स। जुन पत्र अहिले लिलामी भएको हो।'

स्टिभ जब्सकी पत्नी लरेन पावेल ४० सदस्यीय टोली लिएर प्रयागराज पुगेकी छन्। जब उनी महाकुम्भमा आइन्, उनका गुरु स्वामी कैलाशानन्दले उनलाई ‘कमला’ भन्ने नयाँ हिन्दू नाम दिएका छन्।

उनी ध्यान, क्रियायोग र प्राणायाम जस्ता आध्यात्मिक अभ्यासमा भाग लिँदै आएकी छिन् तर मकर संक्रान्तिमा ठूलो भिड हुने भएकाले एलर्जीका कारण उनले संगममा डुब्न सकिरहेकी भने छैनन्। उनको आगमनसँगै यो कार्यक्रमले थप अन्तर्राष्ट्रिय ध्यान तानेको छ।

गत १३ जनवरी २०२५ देखि सुरु भएको महाकुम्भमा हालसम्म ५ करोड १५ लाखभन्दा बढी भक्तजनले संगममा स्नान गरिसकेका छन्। फेब्रुअरी २६ सम्म चल्ने उक्त कार्यक्रममा ४० करोडभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको छ।

Tags: