post-slider post-slider

रवि लामिछानेका कारण संसद मुठभेडतर्फ

Image
A A

काठमाडौं- संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरू भए पनि यो अधिवेशन सहज रुपमा चल्ने संकेत भने देखिएन।

संसद अधिवेशनको पहिलो दिन दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरुद्ध गरियो र बैठक सुचारु हुन सकेन। अब दुवै सदनको बैठक जेठ १ गतेका लागि तोकिएको छ। सो दिन राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

पहिलो दिन दुवै सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा प्रमाण देखिएको भन्दै संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान लियो।

दुई पटक बसेको प्रतिनिधिसभामा कांग्रेसले उठेर विरोध मात्र गरेन नाराबाजी समेत गर्‍यो। कांग्रेसको अवरोधका बीच सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्न खोजेपछि कांग्रेसले बेल घेराउ गर्दै नारबाजी गरेको थियो। 

दोस्रो बैठकमा सभामुखले बैठक शुरु हुनासाथ गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसद झन् उत्तेजित बनेका थिए। उनीहरुले गृहमन्त्रीलाई रोष्ट्रममै जानबाट रोकेपछि उनले सम्बोधन भने गर्न पाएनन्। सभामुखले बैठक जसरी पनि सञ्चालन गर्न खोजेकोबाट संसदमा अब भिडन्तको संकेत बुझ्न सकिन्छ।

सरकारसँग कांग्रेसको माग बमोजिम संसदीय समिति गठन गर्ने विकल्प देखिँदैन। किनकी संसदीय समिति गठन गरेमा गृहमन्त्री लामिछानेले सरकार छोड्ने चेतावनी दिँदै आएका छन्।

उनको दल रास्वपाले सरकार छोडेमा प्रचण्ड नेतृत्वको सरकार सिधै अल्पमतमा पर्ने हुनाले सरकारले संसदीय समिति गठन गर्ने सम्भावना तत्कालका लागि देखिदैन।

अर्कोतर्फ कांग्रेसले यो विषयलाई अब यतिकै नछोड्ने मुडमा देखिएको छ। अघिल्लो संसद अधिवेशनमा अलि सफ्ट रुपमा प्रस्तुत भएको कांग्रेसले यस अधिवेशनको पहिलो दिन नै कडा रुपमा प्रस्तुत भयो र अब नीति तथा कार्यक्रम वा बजेट भनेर यो विषयको टुंगो नलागेसम्म अर्थात कांग्रेसको भनाईमा संसदीय समिति गठन नभएसम्म संसद चलन नदिने स्पष्ट गरको छ।

शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले अब संसदीय समिति गठन नभएसम्म संसदको काम कारवाहीमा सहयोग नगर्ने घोषणा गरेका थिए। साथै उनले गृहमन्त्री लामिछानेले आफैले निवेदन दिएर ऋण लिएको प्रमाण रहेको भन्दै एक अर्ब भन्दा बढी ठगी भएको संसदमा बताएका थिए।

गगन थापाको सो दाबिलाई गृहमन्त्री लामिछानेले भने संसद बाहिर पत्रकारहरुसँग कुरा गर्दै चुनौती दिएका छन्। उनले गगन थापालाई सिधै चुनौती दिदै आफुले निवेदन लिएर ऋण लिएको प्रमाण दिए राजनीति नै छोडिदिने बताएका हुन्।

समग्रमा संसदको बजेट अधिवेशनको पहिलो दिनले राम्रो संकेत गरेको छैन। सरकारले जबर्जस्ती गरेर अगाडी बढ्ने र प्रतिपक्ष आफ्नो अडानमा कायम रहने संकेत पहिलो दिनको संसद बैठकले गरेको छ। सत्ता पक्ष र विपक्षको यो राजनीतिक टकरावले सरकारको नीति तथा कार्यक्रम तथा जेठ १५ गते पेश गर्नैपर्ने बजेट प्रभावित हुनसक्ने सम्भावना देखिएको छ।

कांग्रेसको निष्कर्ष- सरकार सदन चल्न नदिनेतर्फ

नेपाली कांग्रेसले सरकारले संसद चल्न नदिनेतर्फ उद्दत हुँदै गएको निष्कर्ष निकालेको छ।

शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरूले संसदको गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महामन्त्री गगनकुमार थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद पनि चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको जानकारी दिए। 

उनले आफूहरू चाहिनेभन्दा बढी लचकदार भइरहेको उनले बताउँदै उनले भने, ‘संसद् पनि चल्न नदिने, छानविन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको भन्ने हाम्रो आजको छलफलको निष्कर्ष रह्यो।'

महामन्त्री थापाले आगामी दिनमा संसद्का कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न आगामी सोमबार १ बजे संसदीय दलको बैठक आह्वान गरिएको जानकारी दिए। उनले आफूहरुको माग र पोजिसन तलमाथि नहुने बताए। 

Tags: