post-slider post-slider

रामजानकी विवाहोत्सव : आज मटकोर विधि मनाइँदै

Image
A A

जनकपुरधाम- रामजानकी विवाहोत्सवअन्तर्गत पाँचौं दिन शनिबार मटकोर कार्यक्रम मनाइँदै छ।

विवाहोत्सवको साताव्यापी कार्यक्रमअन्तर्गत पाँचौं दिन मिथिला परम्पराअनुसार मटकोर मनाउन लागिएको हो।

मिथिला परम्परामा विवाहपूर्व पोखरीमा पुगेर मटकोर मनाउने गरिन्छ। पोखरीबाट ल्याइएको माटोले वेदी तयार पारिन्छ। 

त्यही परम्पराअनुसार मटकोर मनाउन लागिएको हो।

जनकपुरधामको गंगासागर पोखरीमा रामजानकी विवाहको पूर्वसन्ध्यामा दिउँसो मटकोर गराइनेछ।

जानकी मन्दिरबाट बालबालिकालाई प्रतिकात्मक सीताराम बनाएर साजसज्जा गराइ बाजागाजासहित गंगासागर पोखरीमा मटकोर विधि गराइने मन्दिरका उत्तारधिकारी महन्त रामरोशन दासले जानकारी दिए।

जानकी मन्दिरबाट निस्किने माता जानकीको डोलासहित श्रद्धालुहरूले गंगासागरबाट माटो खनेर लग्नेछन् र त्यही माटोबाट विवाहको वेदी निर्माण गरिन्छ।

यही वेदीमा आइतबार राति राम र सीताको मिथिला परम्पराअनुसार विवाह हुनेछ।

मटकोरको प्रसादमा भिजाइएको चना, चामल र खाने तेल वितरण गरिन्छ।

रामजानकी विवाहोत्सवअन्तर्गत शुक्रबार भव्यताका साथ तिल्कोत्सव कार्यक्रम सम्पन्न भएको थियो। तिल्कोत्सव विवाहका लागि छिनोफानो गर्ने विधि हो।

राम मन्दिरको प्राङ्गणमा सम्पन्न भएको तिल्कोत्सव कार्यक्रममा भगवान रामको पिताका रूपमा राम मन्दिरका महन्त राम गिरी र माता सीताको पिताका भूमिकामा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास थिए।

दुवै मन्दिरका महन्तहरूले सम्धि मिलान गरेर तिल्कोत्सव कार्यक्रम सम्पन्न भएको थियो।

गत मंगलबारदेखि सुरू भएको रामजानकी विवाहोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ र चौथो दिन तिल्कोत्सव कार्यक्रम मनाइएको थियो।

विवाहोत्सवको छैटों दिन आइतबार विवाहोत्सवको प्रमुख कार्यक्रम अर्थात रामजानकीको विवाह सम्पन्न हुनेछ। त्यसपछि सोमबार रामकलेवा अर्थात जन्तीका रूपमा आएका साधुसन्तहरूलाई जानकी मन्दिरका तर्फबाट बिदाइ गरिनेछ।

रामजानकी विवाहोत्सव कार्यक्रममा सहभागी हुने नेपाल तथा भारतबाट लाखौं संख्यामा श्रद्धालुहरू जनकपुर पुगेका छन्।

श्रद्धालुहरूका लागि रङ्गभूमि मैदान, तिरहुतियागाछीलगायतका स्थानमा निःशुल्क वास र भोजनको व्यवस्था गरिएको छ।

रामजानकी विवाहोत्सवको अवसरमा जनकपुरधामस्थित युवा क्लब, संघसंस्थाहरूले निःशुल्क भोजन र वासका लागि शिविर सञ्चालन गर्ने गरेका छन्।

त्यस्तै निजी विद्यालयहरूले तिर्थालुहरूका लागि आ–आफ्नो विद्यालयमा वासको व्यवस्था मिलाएका छन्।

 

Tags: