post-slider post-slider

कांग्रेस बैठक : राष्ट्रियसभाको उम्मेदवार छान्ने जिम्मा देउवालाई, फेरि सर्‍यो महासमिति बैठक

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

पार्टीका प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले आगामी माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गर्न बैठकले सभापतिलाई जिम्मेबारी दिएको बताए।

उनले उम्मेदवार बनाउँदा सभापतिको हस्ताक्षर चल्ने निर्णय भएको बताए।

बैठकमा निर्वाचनमा भाग लिन दल दर्ता गर्ने निर्णयसमेत भएको जानकारी दिए।

निर्वाचन र दल दर्ताको व्यवस्थापनका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको छ।

त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुष १२ गते बस्ने र विधानका केही व्यवस्था महासमितिमा सिफारिस गर्ने निर्णय बैठकले गरेको विश्वकर्माले बताए।

भूकम्पपीडितलाई सरकारबाट घोषणा भएको ५० हजार रुपैयाँ दिन अझै नसकेकोबारे सरकारको ध्यानाकर्षण गराउने निर्णय कांग्रेसले गरेको छ।

प्रचार विभाग प्रमुख विश्वकर्माले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

उनले विधानमा रहेका केही अनुसूचीहरु परिमार्जन गर्ने, पार्टीको तर्फबाट समानुपातिकको बन्दसूचीमा रहेका केही केन्द्रीय सदस्यको नाम फिर्ता लिने निर्णय पनि भएको बताए।

बारामा शिक्षकको शान्तिपूर्ण धर्नामा भएको घटनाको भत्र्सना गर्दै तत्काल दोषीमाथि कारबाही गर्ने र मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उच्चस्तरीय स्वास्थ्योपचार गर्नका लागि सरकारसँग कांग्रेसले माग गरेको छ।

विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदाबरी हलमा गर्ने निर्णय भएको बताएका छन्।

यसअघि पहिलोपटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने निर्णय केन्द्रीय समितिले गरेको थियो।

तर, यो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गतेसम्मका लागि तय भएको थियो।

माघमा हुने राष्ट्रियसभा निर्वाचनका कारण महासमिति बैठक सारिएको विश्वकर्माले बताए।

 

Tags: