post-slider post-slider

प्रहरी समायोजन गरेर प्रदेसहरूलाई अधिकार सम्पन्न बनाऔं : निधि

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले प्रहरी समायोजन प्रक्रिया तत्काल पूरा गरेर प्रदेस प्रहरीको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

जनकपुरधामस्थित धर्मसंस्थाले आइतबार आयोजना गरेको ‘भैरव लक्ष्मिनिया देवी छात्रवृत्ति २०८०’ वितरण कार्यक्रममा उनले संविधानले व्यवस्था गरे अनुसार प्रदेस प्रहरीको व्यवस्था हुनुपर्ने बताएका हुन्।

निधिले संविधानले व्यवस्था गरे पनि प्रदेसहरूले आफ्नै प्रहरी पाउन नसक्नु दुःखद भएको बताए।

‘सातवटै प्रदेसको आफ्नै प्रहरी संगठन हुने संविधानमा प्रष्ट रूपमा उल्लेख छ। तर, अहिलेसम्म कार्यान्वयन हुन नसक्नु दुःखद विषय हो,’ उनले भने,‘संविधानले उल्लेख गरेका अधिकार संघीय सरकारले प्रत्यायोजन गरेर प्रदेसलाई मजबुत बनाउन जरूरी छ।’

मधेस प्रदेस सरकारले सबैभन्दा पहिले प्रहरी समायोजनको विषय उठान गरे पनि यतिबेला अरू प्रदेसहरूले पनि माग गर्न थालेको उनले बताए।

संघीयताको सफल कार्यान्वयनका लागि प्रदेसहरूलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको बताउँदै उनले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलन गर्न जनता तयार भएर बसेको उल्लेख गरे।

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका निधिले प्रहरी समायोजन ऐन कार्यान्वयनमा ल्याउन सबै पक्ष एकजुट भएर लाग्नुपर्ने जिकिर गरे।

संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली संसारकै उत्कृष्ट शासन प्रणाली रहेको बताउँदै उनले कमीकमजोरी भए सुधार गर्दै लैजानुपर्नेमा जोड दिए।

निधिले राजा कहिले फर्किन नसक्ने व्यवस्था नै गणतन्त्र रहेकोले राजा फर्किने कुनै सम्भावना नरहेको बताए।

कार्यक्रममा सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट नतिजा ल्याउने धनुषासहित मधेस प्रदेसका ६ वटा जिल्लाका १८ छात्रछात्राहरूलाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो।

उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरूलाई प्रथम, द्वितीय र तृतीय गरी क्रमशः २५ हजार, २२ हजार र २० हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

 

Tags: