post-slider post-slider

लोकनायक हुने विचारको राजनीति

Image
A A

विचार :

विकासको मूल फुटाउने रणनीतिबाट परिचालित ‘राजनीति’का बहुआयामिक परिप्रेक्ष्यहरूमा देश, काल र परिस्थिति अनुसार परिवर्तित समाजको रुपान्तरूलाई पनि महत्वपूर्ण कारक तत्वको रूपमा लिन सकिन्छ। मानव स्वभाव, जीवनशैली र समाजका खुलापनबाट प्राप्त हुन सक्ने आर्थिक र मनोसामाजिक विकासको धरातलले विश्वका मानव समुदायहरूमा अचम्म लाग्दो आँट र आत्मसम्मान भरिदिएको छ। विगतमा समाजमा देखिएको असमानता, असम्मान र फोहरीपनाको चरम स्वार्थनीतिमा राजनीतिक नैतिकताको दाम्लो बलियो भएर कस्सिन थालेपछि राज्यको सुशासनतन्त्रले जस्तोसुकै शक्तिशाली विचार भएका व्यक्तिहरूलाई ‘कानुन’को कठघरामा उभ्याएर दण्डित पार्ने विधानहरूबाट विश्वकै लोकतान्त्रिक धरातलमा दिगोपना देखिन थालेको हो।

प्राचीनकालदेखि नै विश्वमा स्थापित भइसकेका महाशक्ति राष्ट्रहरूमा क्रमशः युद्ध र अशान्ति तथा आर्थिक मन्दी र राजनीतिक विचार शक्तिहरू घट्दै जाने र क्षीण हुँदै जाने पूर्वाभ्यासहरू बढ्दै गएपछि अब स-साना राष्ट्रहरू पनि ठूला-ठूला महाशक्ति राष्ट्रहरूसँग हात हालाहाल गर्न थालिसकेका छन्। जसले गर्दा अबका महाशक्ति राष्ट्रहरू पनि कमजोर बन्दै जाने र अन्य राष्ट्रहरूसँग मुकाबिला गर्न परस्पर अविश्वास व्यहोर्नुपर्ने कम प्रतिरोधी शक्तिको रूपमा देखा पर्न थालेको छ। युद्धबाटै मात्र अन्तिम परिणाम ननिस्किने हुनाले युद्धको नामबाट लडिने जुनसुकै महायुद्ध भयानक र भयावह बन्दै गइरहेको छ। त्यसले समाजका शक्तिहरूलाई विभाजित पार्दछ, मानवीय क्षमता र सम्भावनाहरूलाई मानवोचित व्यवहारमा प्रयोग गर्न अपार ऊर्जा शक्तिको उपयोगितालाई बढाउन सक्दैन।

मानवताको सम्मान र मानव जातिको कल्याण गर्न नसक्ने जुनसुकै र जस्तोसुकै राष्ट्रियताबाट फरक-फरक राष्ट्रियतासहितको असंख्य स्वतन्त्रताका नदीहरू बगिरहने र नयाँ-नयाँ मुहानहरूको मूल फुटिरहने सम्भावना हुन्छ। त्यहाँ विद्यमान रहेका जल, जमिन, जंगल, जनसाधन लगायतका अपार सामर्थ्यहरूबाट पनि जनताहरूको अपेक्षित रूपमा विकास हुन पाइरहेको देखिँदैन।

आज अधिकांश अरब मुलुकहरू प्राकृतिक इन्धनमा सम्पन्न रूपमा देखिएका छन्। प्राकृतिक ग्यास, इन्धन र पेट्रोलजनित पदार्थहरू बिक्री गरेर उनीहरूले आफ्ना नागरिकहरूको जीवनस्तरमा ठूलो फड्को मार्न सक्छन्। तर, अचम्म लाग्दो वास्तविकता के हो भने मानव विकास सूचकांकमा उनीहरू गरिब र विकाससिल अवस्थामै रहन बाध्य छन्। उनीहरूको जीवनमा धार्मिक असहिष्णुताको सर्वज्ञान यतिधेरै भरिसकेको छ कि उनीहरू पनि आफू-आफूमा विभाजित भई पटक-पटक युद्ध निम्त्याउन खोजिरहेका देखिन्छन्। उनीहरू सुफी सन्तहरूको आदर्शबाट मानवतालाई पुनःजागृत गराउने आत्मबोध र आत्मशक्तिमा कमजोर पर्दै पछि पर्न थालेका छन्।

विश्वका प्राचीन मानव धर्म र समुदायका मानिसहरूले उनीहरूको आत्म केन्द्रित विचार र गतिविधिलाई बडो असहजताका साथ हेर्न थालिसकेका छन्। युद्ध मनोविज्ञानबाट लिडर हुन सक्ने क्षमता भएका देशहरू आज युद्ध अपराधी राष्ट्रको रुपमा देखा पर्नु कम आश्चर्यजनक होइन। आज आधिकांश इस्लामिक राष्ट्रहरूमा युद्धको बादल मडारिँदै छ। गैरइस्लामिक राष्ट्रहरूमा पनि इस्लामिक राष्ट्रहरूबाट ठूलो दबाब सिर्जना भइरहेको छ। भारत-पाकिस्तानबीचको सीमा विवाद, भारत-चीनको सीमा विवाद होस् वा पाकिस्तान र इरानबीचको हात हालाहालको घटना होस्, मानव मन सहज रूपमा शान्तिको मार्गमा अडिएको देखिँदैन। स्थायी शान्ति, स्थिरता र विकाश, सुशासन र समानताको प्रत्याभूति गर्न युद्ध नीतिबाट अगाडि बढेका सोभियत संघबाट टुक्रिएका कम्युनिस्ट घटक देशहरू पनि आज बेग्लै किसिमको पीडाबोधमा बाँचिरहेको छ।

रूष र युक्रेनबीचको युद्ध, इजराइल र प्यालेस्टाइनबीचको युद्ध विश्वको अहिलेसम्मको लामो युद्धमध्यको एक गन्तव्यविहीन युद्धको रूपमा परिणत भइसकेको छ। सर्वसाधारण जनताको नरसंहार हुने गरी, एक-अर्काको अस्मिता र पहिचान सिध्याउने गरी गराइने युद्ध र विध्वंशक हात हतियारको प्रहारबाट मानवता त्राहीमाम गर्न थालेको छ। नेटो गठबन्धनलाई जसरी भए पनि मात दिने युद्ध नीतिबाट अभिप्रेरित भएर रूसले आफ्ना घातकभन्दा घातक परमाणु, युक्त मिसाइलहरू, परमाणु अखडाहरूमा दगुर्न थालेको छ। अमेरिकालाई रूसको तर्फबाट इरान, सिरिया, टर्की, इराक आदि कट्टर चरमपन्थी इस्लामिक राष्ट्रहरूको महाविनाशक प्रहार झेलान विवश हुनु परिरहेको छ।

संयुक्त राष्ट्र संघले विश्वमा स्थायी शान्ति र विकासका लागि तथा पारस्परिक अन्तर्राष्ट्रिय विवादहरू समाधाम गर्ने बाटाहरू खुला राखे पनि विश्वको राजनीतिक रंगमञ्चमा युएन आफैं एउटा विवादित र कमजोर संरचनाको रूपमा देखा परेका छन्। केही शक्ति राष्ट्रहरूको पक्षमा लागेर कमजोर र आर्थिक राजनीतिक रूपबाट दबाइएका देशहरूलाई समृद्धि र राष्ट्रिय अखण्डताको पक्षमा संस्थागत रूपमा उभिन नसकेपछि युएनले विगत कालदेखि नै थाँती रहेका विवादहरू जस्तै: इजरायल विवाद, भारत पाकिस्तानबीच रहेको कास्मिर विवाद, आतंकवाद नियन्त्रण लगायतका मूलभूत मुद्दाहरूमा सशक्त निर्णायक भूमिका खेल्नुपर्नेमा अत्यन्त फितलो देखिन थालेका छन्।

परमाणु युद्धको सम्भावना दरलाग्दो रूपमा विस्तार हुन थालेको छ। रुस, अमेरिका, उत्तर कोरिया, चीन, पाकिस्तान, इजरायल, फ्रान्स, जर्मनी, ब्रिटेन, भारत लगायतका परमाणु शक्ति सम्पन्न राष्ट्रहरूले शान्ति स्थापनाको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिँदा पनि परस्पर अविश्वास र संकटको तुँवालो फैलिँदै छ। चीन-अमेरिका, चीन-भियतनाम, अमेरिका-चीन, अमेरिका-इरान विवादहरूले गर्दा मध्यपूर्वका अधिकांश मुलुकहरू युद्धको विभिषिका सहँदै बाँच्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा लोकतन्त्रको संस्थागत विकासमा देखा पर्न सक्ने अवरोधहरू झन्-झन् फराकिलो आयाम लिँदै छ।

आज जनअभिमत अनुसार परिचालित हुने लोकतान्त्रिक परम्पराहरू सैन्य अधिकृतहरूको हातको कठपुतली सरकार बनेको छ। बंगलादेशमा भएको हालमै सम्पन्न आमचुनावमा लोकतन्त्रको मुखौटा लगाएका राजनीतिक शक्तिहरूले सत्ता सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गरेका छन्। पाकिस्तानमा सेना समर्थित दलहरूले चुनाव जितेर लोकतन्त्रलाई उपहास गरिरहेका छन्। म्यानमारमा सेनाले सत्ता सञ्चालन गरिरहेको छ। अफगानिस्तानमा आतंकवादी गुटहरूको सरकार छ।

नेपालमा पनि कमबेसी लोकतन्त्र कमजोर बन्दै गइरहेको छ। यस्ता किसिमका लोकतन्त्र विरोधी राजनीतिक शक्तिहरूले जनअभिमत अनुसार लोकतन्तरमा निष्ठा र आस्था गुमाउन थालेका छन्। दलीय र गुटगत राजनीतिले जनअनुमोदित विचारलाई सर्वोपरी ठानेर देश र जनताको हितमा कार्य गर्नु जरुरी छ। साना-साना देशहरूलाई पनि संरक्षण गर्नुपर्ने आवश्यकता उत्तिकै टड्कारो छ। कालो अक्षर भैंसी बराबरका व्यक्तिहरू सत्ताको शिखरमा पुग्दछन्। राजनीतिमा कामयाबीको शिखर चढ्दछन् र अकुत सम्पत्ति कमाएर परिदृष्यबाट हराउँछन्। देश र जनताको भाग्यलेखमा कल्याणकारी कार्यहरू गर्ने अवसरहरू उनीहरूले पटक-पटक गुमाइरहँदा अहिलेको सतहमा देखिने लोकतन्त्र युद्धतन्त्रको पार्श्वचित्र मात्र हो कि भन्ने आँकलन गर्न सक्ने प्रशस्त आधारहरू छन्। अमेरिका, रूस, चीन, पाकिस्तान, भारत सबै एक-अर्काबाट त्रशित छन्, जसको सहजतापूर्वक समाधान गर्नु जरुरी छ।

Tags: