post-slider post-slider

कोसी सरकारविरूद्ध एमाले पुग्यो सर्वोच्च अदालत

Image
A A

काठमाडौं- कोसी सरकारविरूद्ध नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा संविधान र सर्वोच्च अदालतको आदेश उल्लंघन गरेको भन्दै एमाले सर्वोच्च अदालत पुगेको हो।

एमाले कोसी प्रदेस संसदीय दलका नेता हिक्मतकुमार कार्की सरकारविरूद्ध रिट लिएर सर्वोच्च पुगेका हुन्।

विश्वासको मत लिने क्रममा प्रदेससभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसदले पनि मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन भएको रिटमा दाबी गरिएको छ।

कोसीका मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिएका थिए। उनले विश्वासको मत लिइरहँदा सभाको अध्यक्षता गरिरहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेका थिए।

उनले अन्य सांसदले मतदान गरी मत सच्याउने बेला थापाको पक्षमा मतदान गरेका थिए।

पक्ष र विपक्षको मत बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत हाल्न पाउने संवैधानिक व्यवस्था छ। 

सभामुख अनुपस्थित भएको बेला सभाको अध्यक्षता गरिरहेका प्रदेससभाका ज्येष्ठ सदस्यले मतदान प्रक्रियामा सहभागी हुन पाउने वा नपाउने विषयमा संविधानले प्रष्ट व्यवस्था गरेको छैन।

संविधानको यही ‘छिद्र’ प्रयोग गरेर सभाको अध्यक्षता गरिरहेका मन्सुरीले मुख्यमन्त्री थापाको पक्षमा मतदान गरेका थिए।

यसअघि थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियामा तत्कालीन सभामुख बाबुराम गौतमसमेत सहभागी हुँदा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च पुगेका थिए।

सर्वोच्च अदालतले सभामुखसमेत सहभागी भएर मुख्यमन्त्री बनाउने प्रक्रियालाई असंवैधानिक ठहर गरेर पुनः सरकार गठनका लागि आह्वान गर्न आदेश दिएको थियो।

सर्वोच्चको आदेशपछि सभामुख पदबाट राजीनामा दिएका गौतमसमेतको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका थिए।

थापाले विश्वासको मत लिन सोमबार बोलाइएको प्रदेससभा बैठकमा उपसभामुख अनुपस्थित भएपछि ज्येष्ठ सदस्य मन्सुरीले सभाको अध्यक्षता गरेका थिए।

मन्सुरीले केहीबेरका लागि प्रदेस सांसद गीता तिमल्सिनालाई अध्यक्षता गर्न लगाएर मुख्यमन्त्री थापाले पेस गरेको विश्वासको मतको पक्षमा मतदान गरे।

मतदानपछि फेरि बैठकको अध्यक्षता गरेका मन्सुरीले विश्वासको मतको परिणाम घोषणा गरेका थिए।

प्रदेससभा बहिष्कार

कोसी प्रदेसको प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी राप्रपाले प्रदेससभा बैठक बहिष्कार गरेका छन्।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठकमा सभाध्यक्ष मन्सुरीले अमर्यादित व्यवहार प्रदर्शन गरेको भन्दै एमाले र राप्रपाले बैठक बहिष्कार गरेको हो।

बैठक सुरू हुने बित्तिकै राप्रपाका नेता भक्तिप्रसाद सिटौलाले कुर्सीबाट उठेर सभाध्यक्ष मन्सुरीले सोमबारको प्रदेससभामा अमर्यादित व्यवहार प्रदर्शन गरेकाले बैठक बहिष्कार गरेको भन्दै सदन बाहिर निस्केका थिए।

त्यसलगत्तै एमालेका प्रदेस सांसदहरू पनि बैठक बहिष्कार गरेको भन्दै बाहिरिएका थिए।

त्यसपछि सभाध्यक्ष मन्सुरीले अर्को सूचना नहुन्जेलसम्म प्रदेससभा बैठक स्थगित गरिएको घोषणा गरेका थिए।

उपसभामुख सिर्जना दनुवारले आफू बिरामी भएको भन्दै अध्यक्षमण्डलका सदस्य कांग्रेसका मन्सुरीलाई बैठकको अध्यक्षता गर्न तोकेको सूचना प्रदेससभा सचिवालयलाई दिएकी थिइन्।

 

Tags: