post-slider post-slider

एनआरएनए चुनाव विवाद : सिआइबीले फेला पार्न सकेन गडबडीको प्रमाण

Image
A A

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) निर्वाचनमा धाँधली भएको भन्ने शर्मा समूहले दाबी गरेको आरोपमा कुनै ठोस प्रमाण फेला नपरेको निष्कर्ष निकालेको छ।

अस्ट्रेलियाको बहुराष्ट्रिय कम्पनी ‘भेरो भोटिङ’ सफ्टवेयरमार्फत भएको चुनावमा गडबडी भएको भन्ने आरोप पुष्टि हुन नसकेको निष्कर्ष सिआइबीले निकालेको हो।

यद्यपि प्रधानमन्त्री र गृह मन्त्रालयको दबाबमा सिआइबीले तयार पारेको प्रतिवेदन सतही रहेको र ठोस निष्कर्षमा पुग्न नसकेको आरोप लागेको छ।

 एनआरएनएका उपाध्यक्ष हेमराज शर्माले ‘प्रधानमन्त्री र गृह मन्त्रालयको दबाबमा तयार गरिएको यो रिपोर्टले न कुनै ह्याकर पत्ता लगाएको छ न कुनै सेट, न कुनै नयाँ कुरा बाहिर ल्याउन सकेको’ बताएका छन्।

 गत अक्टोबरमा सम्पन्न संघको निर्वाचनमा उपविजेता बनेका कतारका राजेन्द्रकुमार शर्मा (आरके शर्मा) ले धाँधली भएको भन्दै नतिजा अस्वीकार गरेका थिए।

 शर्माको अडानपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआइबीलाई छानबिन गर्न निर्देशन दिएका थिए।

‘भेरो भोटिङ’ सफ्टवेयरमार्फत भएको चुनावमा ‘सेटिङ’ गरिएको शर्मा समूहले दाबी गरेको थियो। नतिजा नै प्रभावित हुनेगरी गडबडी नभेटिएको सिआइबीको छानबिनको निष्कर्ष छ।

९ जनामध्ये ५ जनाले नेपाल र ग्लोबल दुवै स्थानमा ‘फेसियल भेरिफिकेसन बाइपास’ गरेको पाइएको सिआइबीको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै ५ जनाले दुवै स्थानमा ‘फेसियल भेरिफिकेसन बाइपास’ गरी मतदान गरेको र २ जना व्यक्तिको आइडीको प्रयोग गरी अरू कसैले मतदान गरेको पाइएकोले निर्वाचनमा ‘हेरफेर’ को सम्भावनादेखिएको प्रतिवेदनमा भनिएको छ।

 तर, सिआइबीले निर्वाचन प्रक्रियामा ‘हेरफेर’ भएको भन्ने किटानीका साथ पुष्टि गर्न सकेको छैन।

उपाध्यक्ष शर्मा भन्छन्,‘सिआइबीको प्रतिवेदनले निर्वाचनमा म्यानुपुलेसन भयो भनेर किटानीका साथ पुष्टि गर्न सकेको छैन। मतदानबाट कसैलाई बञ्चित गरेको वा एक जनाले एकभन्दा बढीपटक मत राखेको आदि विषय यो रिपोर्टले पुष्टि गर्न सकेको छैन।’

आफूहरूले सिआइबीको यस्तो सतही प्रतिवेदनको अपेक्षा नगरेको भन्दै उनले थप अनुसन्धान गर्न सुझाव दिएका छन्।

 ‘हामीले सिआइबीको यस्तो सतही रिपोर्ट आउँछ भन्ने अपेक्षा गरेका थिएनौं। हामी चाहन्छौं म्यानुपुलेसन को सम्भावना छ भने सिआइबीले थप अनुसन्धान गरोस्, इन्टरपोल लगाएर भेरोको कार्यालयमा छापा मारेर सेटिङ र ह्याकिङको पुष्टि गरोस्, दोषीलाई अदालतको कठघारामा उभ्याओस र जेल चलान गरोस्,’ उनी भन्छन्,‘तर त्यो अवस्था नआउन्जेल हामी निर्वाचित समितिलाई प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र राज्यसत्ताको दुरूपयोग गरी सामाजिक सद्भाव खल्बलाउनेहरूबाट कुनै अवरोध नआओस्।’

संघको निर्वाचनमा डा.बद्री केसी ९७ मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका थिए।

उनका प्रतिस्पर्धी आरके शर्माले १ हजार २८१ मत ल्याएर दोस्रो र महेश श्रेष्ठ १ हजार २२५ मतसहित तेस्रो भएका थिए।

 केसीसहित संघका निर्वाचित पदाधिकारीहरूले पदभारसमेत ग्रहण गरिसकेका छन्।

Tags: