post-slider post-slider

अयोध्यामा प्राणप्रतिष्ठाका दिन मधेसमा बिदा दिन माग

Image
A A

काठमाडौं- भारतको अयोध्यामा राम मन्दिरको उदघाटन र प्रतिमा प्राणप्रतिष्ठा हुने दिन मधेस प्रदेसमा बिदा दिन जनकपुरधामस्थित जानकी मन्दिरले माग गरेको छ।

वर्षौंपछि अयोध्यामा राम मन्दिरको उदघाटनाका साथै भगवान रामको प्राणप्रतिष्ठा हुन लागेको भन्दै जानकी मन्दिरले यस अवसरमा बिदा दिन माग गरेको हो।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बिहीबार मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर बिदा दिन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन्।

पाँच वर्षदेखि चल्दै आएको विवाद भारतको सर्वोच्च अदालतले टुंगो लगाएपछि अयोध्यामा राम जन्मभूमि अयोध्यामा मन्दिर निर्माण भएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी २२ तारिखका दिन मन्दिर उदघाटन गर्नुका साथै त्यही दिन भगवान रामललाको प्राणप्रतिष्ठा गर्ने तय भएको छ।

उत्तराधिकारी महन्त दासले मुख्यमन्त्री यादवलाई बुझाएको ध्यानाकर्षणपत्रमा ‘यस पावन र ऐतिहासिक अवसरलाई माता सीताको माइतीबाट संसारलाई त्रेतायुगीन भगवान रामजानकीको पौराणिक वैवाहिक सम्बन्धको सन्देश दिन सरकारी रुपमा उत्सव मनाउन २२ जनवरीका दिन मधेस प्रदेसमा सार्वजनिक बिदाको घोषणा तथा प्रदेसवासीलाई उक्त दिन दीपावली मनाउनका लागि विनम्र अनुरोध गर्दछौं’ उल्लेख छ।

मिथिला र अवधको धार्मिक, पौराणिक, अध्यात्मिक एवं सांस्कृतिक सम्बन्धको आधारमा माता ससुरालीमा हुने हर्ष बढाइमा मधेस प्रदेस तथा मिथिलावासीलाई दीपावली गरी सहभागी हुनसमेत जानकी मन्दिरले अनुरोध गरेको छ।

Tags: