post-slider post-slider

बिपी कोइराला विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति दाससहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

Image
A A

काठमाडौं- बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा.बलभद्रप्रसाद दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालत काठमाडौंका न्यायाधीशद्वय बदभद्र वास्तोला र खुसीप्रसाद थारूको संयुक्त इजलासले दाससहित तीन जनालाई दोषी ठहर गरेको हो।

विशेष अदालतले उनीहरूलाई कैदसहित जरिवानाको सजाय सुनाएको छ।

तीन जनालाई जनही १ वर्ष कैद र २५ हजार रूपैयाँ जरिवाना गरिएको विशेष अदालतका उपरजिष्ट्रार दीपेन्द्रनाथ योगीले जानकारी दिए।

योगीका अनुसार दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजालसले दोषी ठहर गरेको हो।

अन्य पाँच प्रतिवादीले भने सफाइ पाएको योगीले बताए।

सफाइ पाउनेहरूमा प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी म्यानेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवाल छन्।

चेतन अग्रवाल प्रोजिसन मेडिकल प्रालि र बायोमेड इन्टरनेश्ल प्रालिका सञ्चालक हुन् भने उमेश सर्जिकेम डिस्ट्रिब्युटर्सका सञ्चालक हुन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उपकरण तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबी गर्दै ८ जनाविरूद्ध २०७६ असार ३० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

Tags: