'सङ्गलिएको नेपालगन्ज फेरी धमिलियो'
नेपालगन्जमा मंगलबार एका विहानै शान्ति र सदभावकालागी अपीलसहित वृहद सदभाव र्याली निस्कियो।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव अर्थात् ‘मोहम्मद डे’ उत्साहपुर्वक केही दिन अघि मात्रै नेपालगन्जमा पनि मनाईएको थियो। त्यही सेरोफेरोमा एक युवाले नेपालगन्जबाट ४० किलोमिटर सूदुर पुर्वको नरैनापुर गाउँ आसपासतिरबाट सामाजिक सञ्जालमा इस्लाम समुदायप्रति लक्षित गरि स्टाटस लेखिदिए। यता नेपालगन्ज शहरमा गौ हत्याको विरोध चलि नै रहेको थियो।
यति भए नेपालगन्जलाई अरु के चाहिन्थ्यो र !!
आईतबार मुस्लिम समुदायका युवाहरु नेपालगन्ज वडा नं. ५ का वडा अध्यक्षको नेतृत्वमा विरोधमा उत्रिए। त्यसको काउण्टर थियो ॐ कार परिवारको छाता मुनि हिन्दूहरु संगठित भए। ॐ कार परिवारका आह्वानमा मंगलबारलाई नेपालगन्ज बन्दको आह्वान थियो। तर नेपालगन्जको सदभाव कायम राख्न भन्दै सर्व पक्षिय बैठकले मंगलबार वृहत सदभाव र्याली निकाल्यो। परिस्थिति उल्टो भएर गयो।
स्थिति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले नेपालगन्ज उप-महानगर भित्र अनिश्चितकालिन निषेधाज्ञा लगायो। कर्फ्युको अवज्ञा गर्दै शहरका विभिन्न स्थानहरुमा झडप पनि भए। २०६३ साल यता सङ्गलिएको नेपालगन्ज एक पटक फेरी धमिलियो।
मंगलबार दिनभर जसो नेपालगन्जमा तनावग्रस्त रह्यो। वि पी चोकमा प्रदर्शन भयो। त्रिभुवन चोक सदरलाईन क्षेत्रमा स्थित नियन्त्रण गर्न लाठी चार्ज भयो। शहरका अन्य भित्री गललिहरुमा दुई समुदायबीच ढुङ्गा मुढा भए।
वि.सं. २०६३ साल पुष महिनाको फेरी झल्को दियो। ०४९ साल र ०५४ साललाई पनि सम्झायो।
'गौ हत्याको' विरोध गरिरहेका हिन्दू समुदाय र 'गुस्ताक ए रसूलकी की एक ही सजा, सर तन से जुदा,सर तन से जुदा' नारा लगाएकाहरुबाट यतिबेला नेपालगन्जको सदभाव धमिलो भयो।
समाज विभक्त गर्ने साम्प्रदायीकताको राजनीतिको रोटी फेरी पकाईयो।
सामाजिक र धार्मिक रुपका द्वन्द्वको शुरुवात गर्नेहरुमाथि कारवाहि कानुनी राज्यको दायीत्व हो।
यस्ता खाले द्वन्द्वको अन्त्य सदभाव र धार्मिक सहिष्णुताको जगमा शान्तिपुर्वक हुनुपर्ने हो।
हुन त नेपालगन्जमा गएको स्थानीय तहको चुनाव कै सेरोफेरोमा साम्प्रदायीकता मच्याउन खोजिएको थियो। तर त्यो अफवाह मै सिमित भएको थियो। पछिल्लो प्रदेश र संघीय निर्वाचन ताका फेरी नेपालगन्जलाई साम्प्रदायीकतामा गिजोल्ने कोशिस भए पनि त्यो टरेको थियो। पटक- पटक चाडपर्वको वहानामा जातीय,धार्मिक तथा साम्प्रदायीक रुपमा नेपालगन्जमा फोहोरी खेलको प्रयास भईरहन्छन्।
नेपालगन्जलाई सदभावको शहर भनेपनि यहाँको साम्प्रदायीकता बेमौषमी छ। कतिपय अवस्थामा सदभाव विथोल्न आगोमा घ्यु थप्ने काम विभिन्न संगठनहरुले गरिरहन्छन्।त्यसमाथि राजनीतिक दलहरु विभक्त समाजबाट आफ्नो दुनो सोझ्याउने तर्फ लालाहित हुन्छन्।
धर्मका नाममा समाज विभक्त भएको नेपालगन्जमा त्यस्ता घट्ना थुप्रै छन्। विभिन्न धर्मावलम्वीहरुका चाडपर्व आउँछन नेपालगन्ज अक्सर कम्जोर हुन्छ।
आईतबार जिल्ला प्रशासन कार्यालय परिसर भित्र राष्ट्रिय झण्डा कै अगाडी अरु अमुक संगठनका झण्डा फहराएर जे खालको नारा लग्दा पनि स्थानीय प्रशासन मौन झैं देखियो। प्रशासनिक संयन्त्रले आजको परिस्थितिको आंकलन गर्न चुक्यो। जो कसैले शान्तिपुर्वक विरोध गर्नु लोकतान्त्रिक अधिकार सुरक्षित छ। तर त्यसो गर्दा अर्को पक्षको अधिकारलाई पनि ख्याल गरिनुपर्छ।
खासगरी सडक चौपाया,गौ हत्याको विषय बाँकेको सदावहार समस्या झैं छ। यस्ता घट्नाले कुनै समुदायलाई तर्साउँछ अनि कुनै पक्षलाई उक्साउँछ। तर जो सुकै हुन आ आफ्नो अस्तित्वका नाममा यी दुवै पक्ष अतिवादी सोंचका उपज हुन। नेपाली समाज धार्मिक सहिष्णुतामा अडेको हो। अझ २०७२ सालमा जारी संविधानले त धर्म निरपेक्षता सिकाउँछ।
केही दिन अघि जिल्ला प्रशासन कार्यालय बाँकेको परिसर भित्रै र सडकमा जसरी -'गुस्ताक ए रसूलकी की एक ही सजा, सर तन से जुदा,सर तन से जुदा' को नारा लाग्यो त्यो अत्यन्तै गम्भिर विषय थियो। यो नेपालगन्जको मौलिकता कदापी थिएन्।
सन् २०११ ताका पाकिस्तानको पञ्जाव प्रान्तमा त्यहाँका गभर्नर सलमान तासीरको हत्या भएको थियो। त्यसको वदलामा उनकै सुरक्षा गार्डले गभर्नरको हत्या गरेका थिए। ब्लासफेमी कानुनको आलोचना गेरेका गभर्नरको हत्या भयो। धार्मिक उन्मादको हद अपवित्रता नियन्त्रण गर्ने (ब्लासफेमी) कानुन हो। यो कानुन कतिपय इस्लामिक देशमा लागू छ।
त्यो नारा पछी आएर भारतमा चल्यो। भारतीय जनता पार्टीकी सांसद नुपुर शर्माले पैगम्बर मोहोमदका विषयमा सन् २०२२मा गरेको टिप्पणीले भारतमायो नाराले तुल पकड्यो। भारतको उदयपुरमा टेलर कन्हैया लाल र महारष्ट्रको अमरावतिमा उमेश कोल्हेको हत्या भयो। भारतकै हैदरावादमा भाजपाका टि राजा सिंहका विरुद्ध सैयद अबदाहू कशाब नाम गरेका ब्यक्तिको समुहले यही नारा लगाएका थिए। विडम्वना त्यही नारा मुस्लिम समुदायका केही समुहले नेपालगन्जको सडकमा गञजाए।
परिणाम मंगलबार नेपालगन्ज फेरी एकपटक साम्प्रदायीक दङ्गाको शिकार भयो। वर्षौंसम्म शान्त रहेको नेपालगन्ज एक पटक फेरी बदनाम भयो।