सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरू भएको छ : साउद
काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरू भइसकेको बताएका छन्।
भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमा समस्याको समाधानका लागि पहल भइरहेको बताए।
साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएकाबेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएका सहमतिअनुसार समाधानका पहल अघि बढाइएको जानकारी दिए।
सीमानाको समस्या समाधान गर्दा राजनैतिक रूपमा सहमति हुनुपर्ने उनको भनाइ छ।
साउदले प्रशासनिक रूपमा रहेको मेकानिज्म पनि क्रियाशील भइ अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कूटनीतिक पहल चलिरहेको जानकारी दिए।
हालै भारतका विदेशमन्त्री एस.जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको उनले बताए।