प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच भेटवार्ता
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिंहदरबारमा उनीहरूबीच शिष्टाचार भेट भएको हो।
मिस्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका थिए। ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक भारतबाट उच्चस्तरीय भ्रमण भएको हो।
सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो।
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन्। अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन्।
गत जुलाइमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए।