post-slider post-slider

कायस्थ समूदायले चित्रगुप्त पूजा मनाउँदै

Image
A A

जनकपुरधाम- कायस्थ समुदायले आज चित्रगुप्त र कलम पूजा  हर्षोल्लासका साथ मनाउँदैछन्।

भाइटीकाका दिन कायस्थ समुदायले चित्रगुप्त र कलम पूजा गर्ने गरेका छन्।

श्रृष्टिकर्ता परमपिता ब्रम्हाको इच्छापुत्र चित्रगुप्तको सन्तान भएको मान्यता राख्ने यो समुदायले सदियौंदेखि यो परम्परा मान्दै आएका हुन्। भगवान ब्रम्हाको ‘काया’ बाट चित्रगुप्तको उत्पति भएकोले उनलाई कायस्थ भनिएको मान्यता रहेको छ।

चित्रगुप्तको विवाह भागवान सूर्यकी पुत्री यमीसँग भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

कलमका देवता तथा मानिसको पाप र पूण्यको लेखाजोखा राख्ने देवताको रूपमा भगवान चित्रगुप्तको पूजा गर्ने गरिन्छ।

चित्रगुप्तलाई भगवान ब्रम्हाद्वारा यमराजको दरबारमा नियुक्त गरिएको कुरा पद्म पुराणमा उल्लेख छ।

कायस्थ समुदायले चित्रगुप्त पूजाको दिनमा कलम प्रयोग नगरी यसलाई धोइपखाली विधिपूर्वक मन्त्रोचारण गरी पूजा गर्दछन्।

चित्रगुप्त पूजाका दिन कायस्थ समुदायले कार्यक्षेत्रसँग जोडिएका कुनै काम गर्दैनन्। चित्रगुप्त पूजा गर्नाले स्मरण शक्ति वृद्धि हुने मान्यता रहेको छ।

जनकपुरधाम, वीरगञ्ज, विराटनगर, भैरहवा, राजविराजलगायतका स्थानमा कायस्थ समुदायले धुमधामका साथ चित्रगुप्त पूजा मनाउने गर्दछन्।

विभिन्न स्थानमा रहेका चित्रगुप्त सेवा समितिमार्फत हुने पूजाका क्रममा रातभरी जाग्राम बसेर विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम, कवि गोष्ठीलगायतका कार्यक्रम हुने गरेका छन्।

 

Tags: