post-slider post-slider

इजरायलबाट ल्याइयो १८ नेपाली

Image
A A

काठमाडौं- इजरायलमा विद्रोही समूह हमासको आक्रमणपछि असुरक्षित अनुभव गरी स्वदेश फर्काउन गरेका १८ जनालाई पुनः ल्याइएको छ।

इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएकालाई मंगलबार राति ल्याइएको हो।

भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १८ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतका विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘अपरेसन विजयमार्फत १८ नेपालीसहित २८६ जना इजरायलबाट भारत आइरहेको’ जानकारी दिएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले जयशंकरको ट्विटलाई रिट्विट गर्दै नेपाली नागरिकलाई इजरायलबाट ल्याउन सहयोग गरेकोमा धन्यवाद दिएका छन्।

इजरायलमा आफ्नो नागरिकलाई उद्धार गर्न भारतले ‘अपरेसन विजय’ सुरू गरेको छ।

उनीहरू मंगलबार बिहान इजरायलको स्थानीय समयअनुसार ९ बजे उडेका थिए।

इजरायलमा श्रमिकका काम गरिरहेका १८ जनालाई भारतको रेस्क्यु फ्लाइटमार्फन दिल्लीसम्म ल्याइएको हो।

अब पश्चिम नेपाल हुँदै उनीहरू आ–आफ्नो गृहजिल्लातर्फ जानेछन्।

अरू फर्किन चाहने नेपालीलाई क्रमिक रूपमा स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।

हाल इजरायलबाट नेपाल फर्किन चाहनेको संख्या तीन सयभन्दा बढी रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका विद्यार्थी असुरक्षित भएपछि सरकारले गत शुक्रबार २५४ जनालाई स्वदेश फर्काएको थियो।

परराष्ट्रमन्त्री साउद आफैं इजरायल पुगेर ती विद्यार्थीहरूलाई नेपाल ल्याएका थिए।

इजरायल सरकारले आक्रमणमा परेर मृत्यु भएका १० जनामध्ये पाँच जनाको शव हस्तान्तरण गरिसकेको छ भने पाँच जनाको शव अझै दिएको छैन।

शव ल्याउने प्रक्रिया बाँकी रहेकोले अझै केही समय लाग्ने प्रवक्ता लम्सालले बताएकी छन्।

इजरायल सरकारले आफ्नो प्रोटोकल पूरा गरी शव हस्तान्तरण गरेलगत्तै ल्याइने उनले जानकारी दिइन्।

इजरायलमा सम्पर्कविहीन रहेका सुदूरपश्चिम विश्वविद्यालयका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ।

 

Tags: