post-slider post-slider

सशस्त्रका तीन जना एसएसपी डिआइजी बढुवामा भानु देउवाका ज्वाइँ पर्दा पाठक छुटे

Image
A A

काठमाडौं - सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा सिफारिस भएका छन्।

बिहीबार गृह मन्त्रालय बढुवा सिफारिस समितिले तीन जनालाई बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहेका छन्। यो बढुवा सिफारिसमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्छन्।

तर, फौजी संगठनमा बढुवा-सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू प्राय: छैनन्।

यो बढुवा सिफारिसमा नअटाएका कृष्णराज पाठक हुन्। उनी सबैभन्दा वरिष्ठ एसएसपी थिए। अघिल्लो पटकको बढुवामा समेत उनी छुटेका थिए।

पाठकका ब्याचमेट सुरेश श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह, पुरुषोत्तम थापा र दीपक अधिकारी यसअघि नै बढुवा भइसकेका थिए।

बढुवामा परेकामध्ये कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका ज्वाइँ नातामा पर्छन्। कुँवर देउवाका स्वकीय सचिव भानुका बहिनी-ज्वाइँ हुन्। बढुवामा सिफारिस भएका ढकाल पहिलो ब्याचका हुन् भने कुँवर र भट्ट दोस्रो ब्याचका हुन्।

कुँवर यसअघि एसएसपी बढुवा हुँदासमेत पहिलो नम्बरमा परेका थिए। उनले बढुवामा अस्वाभाविक छलाङ मारेको आरोप लाग्ने गरेको छ।

उनी यति प्रभावशाली अधिकृत हुन्, जसका निम्ति सशस्त्र प्रहरी बलको नियमावली नै संशोधन गरियो। उनलाई एसएसपीमा पहिलो नम्बरमा बढुवा गर्न सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो। 

कुँवर भर्ना हुँदा ७४औं नम्बरमा थिए। डिएसपीबाट एसपी हुँदा उनी १०औं नम्बरमा परे। एसपीबाट एसएसपीमा बढुवा हुँदा सशस्त्र प्रहरी नियमावली, २०७२ नै संशोधन गरिएको थियो।

सशस्त्र प्रहरी बलमा डिआइजी बन्न स्टाफ कलेज पास गर्नुपर्छ। तर, उनी दुई पटक स्टाफ कलेज फेल भएका व्यक्ति थिए। त्यसपछि उनलाई पहुँच लगाएर नेपाली सेनाको स्टाफ कलेजमा पठाइयो। 

भावी आइजीका लागि योग्य बन्न कुँवरले शक्तिकेन्द्रको दबाबमा संगठनलाई नै पारेको देखिएको छ। तर, आइजी राजु अर्याल दबाबसामू निरीह बन्न पुगेका छन्। 

Tags: