post-slider post-slider

दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीमा जाहेरी

Image

जनकपुरधाम- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको छ।

प्रसाईंले राष्ट्रिय गानको अपमान गरेको भन्दै युवा संघ नेपालका धनुषा अध्यक्ष रोशन यादवले कारबाहीको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका हुन्।

प्रसाईंले कात्तिक २८ गते जनकपुरधाम–१४ स्थित कवर्ड हल नजिक आयोजित कार्यक्रममा संविधानले उल्लेख गरेको राष्ट्रिय गान नबजाइ खारेज भइसकेको पुरानो धुन बजाएको जाहेरीमा उल्लेख छ।

‘...आयोजना गरेको कार्यक्रममा भाषण तथा सम्बोधन गर्नुअघि नेपाली राष्ट्रिय गान बजाउनुपर्नेमा विपक्षीले नेपालको राष्ट्रिय गानलाई अपमान गर्ने मनशायले मञ्चमा अन्य व्यक्तिहरू समेतलाई उपस्थित गराइ नेपालको संविधानको धारा ९ को उपधारा (१) को अनुसूची २ मा उल्लेख भएको नेपालको राष्ट्रिय गानको धुनको सट्टा पुरानो राष्ट्रिय गान श्रीमा गम्भीर नेपाली...धुनसहित कार्यक्रम सञ्चालन गरी राष्ट्रिय धुनको अपमान गरेकोले कारबाही गरी पाउँ,’ जाहेरीमा भनिएको छ।

युवा संघका अध्यक्ष यादवले राष्ट्रिय गानको अपमान गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर भएकाले प्रसाईंलाई खोज तलास गरी हदैसम्म कैद तथा जरिवानाको माग गरेका छन्।

‘राजा ल्याउँ देश बचाउँ’ अभियान सञ्चालन गरिरहेका प्रसाईंले जनकपुरधामको कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाउन लगाएको भिडियोसमेत प्रमाणको रूपमा जाहेरीसाथ संलग्न गरिएको युवा संघका धनुषा अध्यक्ष यादवले बताए।

प्रसाईं आफूलाई नेपाल केन्द्रित राष्ट्रवादद्वारा हिन्दु अधिराज्य स्थापना गरौं भनि ‘राजा ल्याउँ देश बचाउँ’ अभियानको रूपमा परिचित गराउने ‘अपराधी’ रहेको उनले आरोप लगाएका छन्।

 

Tags: