post-slider post-slider

सुन तस्करी प्रकरण : तिब्बती मुलका बेल्जियम नागरिक पक्राउ

Image
A A

काठमाडौं- सय किलो सुन तस्करी प्रकरणमा तिब्बती मुलका एक जना बेल्जियमका नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दावा छिरिङ रहेको बताइएको छ। छिरिङ ठमेलस्थित भियाना होटलबाट पक्राउ परेका हुन्।

राजस्व अनुसन्धान विभागको टोलीले शनिबार राति भियाना होटलमा छापामारी गरेको थियो।

राजस्व अनुसन्धान विभागको छापामारीमा छिरिङ होटल भियानाबाट पक्राउ परेका हुन्। 

सुन प्रकरणमा जोडिएको व्यक्तिको खोजीका लागि भन्दै विभागको टोलीले आइतबार बिहानसम्म छापा मारेको थियो।
यसअघि यो प्रकरणमा १७ जना पक्राउ परिसकेका छन्।

छिरिङ पक्राउ परेपछि राजस्व विभागले सुन प्रकरणमा अहिलेसम्म १८ जनामा नियन्त्रणमा लिइसकेको छ।

पछिल्लोपटक पक्राउ परेका छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करीलगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका व्यक्ति हुन्। उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए।

पछिल्लोपटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकोले पक्राउ गरिएको विभाग स्रोतले जनाएको छ।

यसैबीच शनिबार राति विभागको टोलीले शनिबार राति नै टोखाको एक प्रिफ्याब हाउसमा छापा मारेर केही सामान बरामद गरेको छ।

त्यहाँबाट सुन गाल्ने मेसिन र पगाल्ने रसायन भेटिएको बताइएको छ। छापामारीपछि प्रिफ्याब हाउस राजस्व विभागले सिल गरेको छ।

सुन पगालेर अरू नै वस्तुको स्वरूपमा भारत लैजान प्रयोग गरिएको हुन सक्ने टोखामा भएको छापाबाट खुलेको छ।

 

Tags: