post-slider post-slider

पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

Image
A A

काठमाडौं- एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ।

एकदिवसीय क्रिकेटतर्फ पहिलो स्थानमा रहेको पाकिस्तानसँग उसको घरेलु मैदान मुल्तानमा भएको खेलमा नेपाल १०४ रनमा समेटिएको हो।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको थियो।

यो लक्ष्य पछ्याउने क्रममा नेपाल २३.३ ओभरमा अलआउट हुन पुग्यो।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले आगामी सोमबार अर्को मजबुत राष्ट्र भारतको सामना गर्नेछ।

नेपालको दोस्रो खेल श्रीलंकाको क्यान्डीमा हुनेछ।

मुल्तान रङ्गशालामा नेपालका बलरहरूले कसिकसाउ बलिङ गरेका थिए। खेल सुरू हुनुअघि नेपालको बलिङमा चौका र छक्काको वर्षा हुने कतिपयको अपेक्षा भए पनि बुधबार साँझको खेलमा त्यसो भएन।

पाकिस्तानी ब्याटरलाई पहिलो छक्का प्रहारी गर्न ३४ ओभरसम्म कुर्नुप¥यो। ३५ औं ओभरको पहिलो बलमामात्रै पाकिस्तानका ब्याटरले पहिलो छक्का प्रहार गरेका थिए।

सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछानेको बलमा विपक्षी खेलाडीहरू खुलेर खेल्न सकिरहेका थिएनन्।

३० औं ओभरमा करण केसीले पाकिस्तानी कप्तान बाबर आजमको क्याच ड्रप नगरेको भए खेलको मोड सम्भवतः अरू नै हुने थियो।

५५ रनको व्यक्तिगत स्कोरमा छँदा जीवनदान पाएका बाबरले नेपालविरूद्ध १५१ रन जोडे। त्यतिमात्रै होइन लगभग धरमराइसकेको पाकिस्तानी इनिङलाई सम्हाल्दै उनले तीन सय बढी स्कोरसम्म पु¥याउन सफल भए।

कप्तान बाबरलाई अर्को छोडबाट साथ दिएका थिए इफ्तिकार अहमदले। अहमदले अविजित १०९ रन जोडे।

नेपालले गरेको दुईवटा रन आउट उच्च कोटीको थियो। दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले गरेको ‘डाइरेक्ट हिट’ पाकिस्तानी खेलाडीहरूको अपेक्षाविपरित देखिएको थियो।

यद्यपि पाकिस्तानले आफ्नो भूमिमा आफ्नो टिम एकदिवसीय शीर्ष वरीयताको टोली भएको प्रमाणित गरेरै छोड्यो।

अन्तिम १० ओभरमा पाकिस्तानले १२९ रन बटुलेको थियो। जसको मदतले उसले ६ विकेट गुमाएर ३४२ रनको विशाल लक्ष्य बनायो। यो नेपालले अहिलेसम्म पाएको विशाल रन लक्ष्य हो।

आरिफ शेख, सोमपाल कामी र गुलशना झाबाहेक नेपालका कुनै पनि ब्याटर दोहोर अंकमा रन जोड्न सकेनन्।

आरिफले २६, सोमपालले २८ र गुलशनले १३ रन जोडे। ओपनिङ गर्न आएका कुशल भुर्तेल र आसिफ शेखले क्रमशः ८ र ५ रन बनाए।

कप्तान रोहित पौडेल शुन्य रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ३, कुशल मल्लले ६, सन्दीप लामिछानेले शुन्य र ललित राजवंशीले शून्य रन बनाए।

करण केसी ७ रन बनाएर नटआउट रहे।

नेपालका लागि सोमपाल कामीले दुई विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले १–१ विकेट लिए।

 

 

Tags: