post-slider post-slider

पवित्रा फुयाँल नेपालको हत्यामा अंश विवाद मुख्य कारण

Image
A A

काठमाडौं- मोरङको सुन्दरहरैंचामा अंश विवादका कारण एक महिलाको हत्या भएको छ।

प्रहरीले ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्यामा संलग्नको आरोपमा उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार बिहान ११ बजेतिर लक्ष्मणले खुकुरी प्रहार गरी आफ्नी पत्नीलाई गम्भीर घाइते बनाएका थिए। घाइते पवित्रालाई नोबेल शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार, अंश विवादको कारणले गर्दा लक्ष्मणले आफ्नी पत्नीलाई खुकुरीले प्रहार गरेको कुरा बुझिएको छ। नेपाल दम्पतीले किनेको १६ धुर जग्गा पवित्राको नाममा थियो। विवाद बढ्न थालेपछि दुवैले एक-अर्काविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए।

लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा दायर गरेका थिए भने पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन्।

अदालतले दुवैलाई मिलापत्र गराएको थियो। मिलापत्रपछि लक्ष्मणले माइतमा बसेकी श्रीमतीलाई घरमा बोलाएर खुकुरी प्रहार गरेका थिए।

‘घटनाको छानबिन भइरहेको छ, र लक्ष्मणलाई पत्नीको हत्यामा संलग्न भएको आरोपमा घरबाटै पक्राउ गरिएको छ,’ डीएसपी बस्नेतले भने।

Tags: