post-slider post-slider

महामन्त्रीद्वयमाथि ‘ब्याकफायर’ गर्ने तयारीमा संस्थापन!

Image
A A

काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि सुरू हुने बैठकको कांग्रेसले लाइभ गर्न लागेको हो।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले केन्द्रीय समिति बैठक लाइभ गर्ने गरी व्यवस्था मिलाइएको बताए।

उनका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गरिने भएको हो।

विश्वकर्माले पार्टीको पत्रकार सम्मेलन गर्ने कक्षमा बैठकको लाइभ प्रविधि जडान गरिएको जानकारी दिए।

‘अडियो, भिडियो क्याप्चर पार्टीको अफिसियल क्यामेराले गर्छ। लाइभ सम्प्रेषण हाम्रो पार्टीको फेसबुक पेजबाट हुन्छ,’ उनले भने।

सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेसले केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा देउवाले केन्द्रीय समिति बैठकको लाइभ गर्ने प्रस्ताव राखेका थिए।

पार्टीका कतिपय नेताले बैठकमा एउटा कुरा र बाहिर मिडियामा अर्को कुरा गर्न थालेपछि सभापति देउवाले केन्द्रीय समिति बैठकलाई लाइभ गर्ने प्रस्ताव गरेको उनीनिकट नेताहरूको भनाइ छ।

‘दुईथरि कुरा गर्ने साथीहरूले सिधा कुरा गर्नुप¥यो भन्ने सभापतिको भनाइ छ। बैठकमा भनेको कुरा मिडियामा नभन्ने र मिडियामा भन्नेको कुरा बैठकमा भन्ने भए साथीहरू। त्यसले पार्टीलाई नोक्सानी पुग्यो। त्यो भएकाले लाइभ गरिदिऔं। जे हुन्छ हुन्छ भन्नुयो,’ विश्वकर्माले भने।

सभापति देउवाले बैठकको लाइभ गर्ने प्रस्ताव गरेरपछि महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले फरक मत राखेका थिए।

बैठकको लाइभ गर्दा कतिपय नेताहरूले खुलेर बोल्न नपाउने भनाइ उनीहरूको थियो।

विधानअनुसार हरेक दुई महिनापछि बस्नुपर्ने कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्दैछ।

केही केन्द्रीय सदस्यले बैठक बोलाउन लिखित माग गरेपछि सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएका हुन्।

यसअवधिमा संस्थापन इतरसमूहले पार्टी नेतृत्वलाई निरन्तर निशाना बनाउँदै आइरहेको छ। खासगरेर देउवाको कार्यशैलीलाई लिएर। 

केन्द्रीय समिति बैठकमा नेतृत्वले सदस्यहरूको प्रश्नहरूको सामना गर्नुपर्ने छ।

महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले सभापति देउवाको कार्यशैलीमाथि निरन्तर प्रश्न उठाउँदै आएका छन्।

पछिल्लो समय महामन्त्री थापाले संसदीय दलको नेता फेर्ने तयारीमा आफू रहेको बताएका छन्।

संस्थापन पक्षका नेताहरू ‘इतर समूहका नेताहरू बाहिर एकथरि अनि आन्तरिक बैठकमा अर्कोथरि कुरा गर्न थालेपछि त्यसलाई प्रष्ट पार्न केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयमा पुगिएको’ बताउँछन्।

संस्थान पक्षका नेताहरूको संकेत महामन्त्रीद्वयतर्फ रहेको छ।

त्यसैले अबको बैठकमा केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय थापा र शर्मालाई नै प्रश्नको कठघारामा उभ्याउने तयारी गरेका छन्।

सभापति देउवानिकट पदाधिकारीहरू महामन्त्रीद्वयकै कारण पार्टी विधानसम्मत सञ्चालन हुन नसकेको आरोप लगाउँछन्।

सहमहामन्त्री महेन्द्र यादव महामन्त्रीद्वयले मिडिया खपतका लागि हुँदै नभएका कुराहरू बोल्ने गरेको बताए।

‘पार्टी विधानअनुसार चलेन भनेर उहाँहरू भन्नु हुन्छ, विभाग गठन भएन उहाँहरूको भनाइ छ,’ यादवले भने,‘के यसको लागि सभापतिमात्रै दोषी हुनुहुन्छ? महामन्त्री भएर उहाँहरूले के गरि रहनुभएको छ? यसमा उहाँहरूको पनि दोष छ।’

मिडियामा अनावश्यक ‘प्रोपेगन्डा’ खडा गरेर महामन्त्रीद्वयले पार्टीलाई झनै अप्ठयारोमा पार्ने काम गरिरहेको उनको आरोप छ।

केन्द्रीय समिति बैठक नबोलाउने, उपनिर्वाचनको नेतृत्व गरे पनि दलको उम्मेदवारलाई विजय गराउन नसक्नु, संसदीय दलको चुनाव हारे पनि दलको नेता फेर्छु भन्दै हिँड्नेलगायतका अभिव्यक्तिका कारण संस्थापन पक्ष असन्तुष्ट छ।

पार्टीबाट युवा र कार्यकर्ता पलायन भइरहेको, सांठगनिक गतिविधिलाई सक्रिय पार्न नसकेको, पार्टीका कार्यक्रमहरू तल्लो तहसम्म पु¥याउन नसकेको, विभागहरू गठन नहुँदा पनि महामन्त्रीद्वयले हस्तक्षेपकारी भूमिका खेल्न नसकेको जस्ता प्रश्न उठाउने तयारी संस्थापन पक्षको छ।

‘पार्टी सुस्त भयो भनेर उहाँहरूले बोलिरहनु भएको छ। यो सबै सार्वजनिक खपतका लागि हो। उहाँहरूले पार्टीको हितभन्दा व्यक्तिगत लाभ खोजिरहनु भएको छ,’ सहमहामन्त्री यादव भन्छन्,‘फेसबुकमा लेखेरमात्रै पार्टी चल्दैन। पार्टी र विधान चलाउने जिम्मेवारी उहाँहरूको पनि हो। पार्टी सक्रिय भएन भन्नु हुन्छ भने यसको जिम्मेवारी उहाँहरूले पनि लिनुपर्ने हुन्छ।’

संस्थापन पक्षका नेताहरू पार्टीलाई गतिशील बनाउन सभापतिलगायत सबै पदाधिकारीको समान भूमिका रहेको तर्क गर्छन्। आफूले आरोप प्रत्यारोपमात्रै गर्ने र पाएको जिम्मेवारी पूरा नगरेर पार्टी अगाडि नबढने उनीहरूको भनाइ छ।

बैठक सुरू भएपछि यसअघि सभापतिलाई निशाना बनाउँदै आइरहेका महामन्त्रीद्वय थापा र शर्मामाथि ‘ब्याकफायर’ हुने देखिएको छ।

प्रचार विभाग प्रमुख विश्वकर्मा पाटी गतिशील नहुनुमा सबै पदाधिकारी उत्तिकै जिम्मेवार रहेको बताउँछन्।

‘बाहिर पार्टी चलेन, यो भएन त्यो भएन भनेर केही पदाधिकारी साथीहरू भन्दै हिँड्नुभएको छ। योभन्दा अगाडिको केन्द्रीय समिति बैठकले दिएको जिम्मेवारी पदाधिकारीहरूले के कति पूरा गर्नुभयो बताउनुपर्छ,’ उनी भन्छन्,‘त्यसमा उहाँहरूले त जवाफ दिनुपर्छ। उपनिर्वाचनमा लिएको जिम्मेवारीको विषयमा जवाफ दिनुपर्छ।’

 

Tags: