post-slider post-slider

रौतहटमा सरस्वतीको मूर्ति सेलाउने क्रममा झडप, स्थिति नियन्त्रणमा लिन कर्फ्यू

Image
A A

रौतहट - रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।

ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार दुई पक्षबीच झडप भएको हो।

झडपमा केही स्थानीय घाइते भएका छन्। झडप घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएका छन्।

पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।

घिउरा गाउँका स्थानीयले सरस्वतीको पूजा गरेर शुक्रबार नजिकको पोखरीमा मूर्ति सेलाउन लैजान लागेका थिए। अर्को पक्षले डिजे बाजा बजाएको भन्दै अवरोध सिर्जना गरेको थियो।

त्यसपछि मूर्ति सेलाउन जानेहरुले बाटोमै मूर्ति राखेर बसेका थिए। शनिबार मूर्ति सेलाउन दिने सहमति भएको थियो। तर मूर्ति सेलाउन लैजानने र डिजे बाजा अर्को बाटोबाट लैजान दिन सहमति भएको थियो। तर सहमतिविपरीत केही व्यक्तिले ढुंगामुढा गरेपछि झडपको स्थिति सिर्जना भएको थियो। 

झडपमा दुवै पक्षका केही व्यक्तिहरू घाइते भएका छन्। 

पछिल्लो ५ वर्षदेखि मूर्ति सेलाउने विषयमा यो गाउँमा दुई पक्षबीच झडप हुँदै आएको छ।

Tags: