post-slider post-slider

६८ अर्ब घाटा खाएर एनसेलबाट किन बाहिरियो एजियटा?

Image
A A

काठमाडौं- एनसेलमा लगानी गरेको आफ्नो स्वामित्वमा भएको सम्पूर्ण ८० प्रतिशत सेयर बिक्री गरेर मलेसियन कम्पनी आजियटा नेपालबाट हिँडेको छ।

करिब ६८ अर्ब ३५ करोड रूपैयाँ घाटा बेहोर्दै मलेसियन कम्पनी एजियटा नेपालबाट हिँडेको हो।

सात वर्षअघि एजियटाले १ अर्ब ३१ करोड ५० लाख अमेरिकी डलर अर्थात १ अर्ब ४३ अर्ब रूपैयाँ (१ डलर बराबर १०५ रूपैयाँ) मा खरिद गरेको सम्पत्ति ५ करोड डलर अर्थात ६ अर्ब ६० करोड रूपैयाँ (१ डलर बराबर १३२ रूपैयाँमा) बिक्री गरेको हो।

एजियाटाले आफ्नो स्वामित्वको सबै ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेर नेपालबाट बाहिरिएको छ।

स्पेक्ट्रलाइट युकेले एजियटाआवद्ध रहेको रेनल्ड्स होल्डिङको सत प्रतिशत सेयर खरिद गरेको छ। 

एनसेलका स्थानीय साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेले एजियटाको ८० प्रतिशत सेयर खरिद गर्दा ६ अर्ब भुक्तानी गर्नुका साथै अरू पनि सम्झौताहरू भएका छन्।

आयोमेलले प्राप्त गरेको कागजातलाई हेर्ने हो भने ६८ अर्बभन्दा बढी घाटा सहेको एजियटाले स्पेक्ट्रम युकेलाई दायित्वको थैली बुझाएर नेपालबाट हिँडेको छ।

एजियटाले एनसेलबाट बाहिरिन स्पेक्ट्रलाइट युकेलाई ५ करोड अमेरिकी डलर (६ अर्ब ६६ करोड रूपैयाँ) बिक्री गरेको देखिए पनि यसभित्र अरू पनि समझदारीहरू भएका छन्।

एजियटा र स्पेक्ट्रलाइट युकेबीच एनसेलको सेयर किनबेच गर्न सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) भएको छ।

यो एसपिएअनुसार स्पेक्ट्रलाइट युकेले एजियटालाई दुईवटा समयतालिकामा भुक्तानी गर्नुपर्नेछ।

स्पेक्ट्रलाइटले ६ महिनाभित्र एजियटालाई ५० लाख अमेरिकी डलर र ४८ महिनाभित्र ४ करोड ५० डलर भूक्तानी गर्ने सहमति छ।

यसबाहेक एजियटाले एनसेलबाट सन् २०२९ सम्म लाभांश लिने गरी स्पेक्ट्रलाइटले सम्झौता गरेको छ।

सम्झौताअनुसार सन् २०२३ मा एजियटाले आफ्नो हिस्सा ८० प्रतिशतको सतप्रतिशत लाभांश लिनेछ।

२०२४ र २०२५ मा ४० प्रतिशत, २०२६ र २०२७ मा ३० प्रतिशत र २०२८ र २०२९ मा २० प्रतिशत लाभांश लिने सम्झौता छ।

एनसेलले नाफा गरेपछि लाभांश बाँडफाँट हुने दुवै पक्षबीच समझदारी भएको छ। त्यो लाभांश स्पेक्ट्रलाइट युकेको खातामा पुगेपछि त्यहाँबाट एजियटालाई भुक्तानी गर्ने समझदारी छ।

त्यसबाहेक यदि स्पेक्ट्रलाइट युकेले यो समयभित्र आफ्नो सेयर अरू कसैलाई बिक्री गरे पनि त्यसको हिस्सासमेत एजियटाले पाउने सहमतिमा उल्लेख छ।

सेयर बिक्री गर्दा स्पेक्ट्रलाइट युकेसँग भएको समझदारीअनुसार एजियटा ऋणको दायित्वबाट मुक्त भएको छ। 

यतिबेला कम्पनीले तिर्नुपर्ने ऋण ३० अर्ब बढी रहेको छ।

अब यो दायित्वको थैली एजियटाको ८० प्रतिशत सेयर खरिद गर्ने कम्पनी स्पेक्ट्रलाइट युकेमाथि पुगेको छ। एजियटासँग भएको सम्झौताअनुसार एजियटाको भागमा परेको ऋण अब स्पेक्ट्रलाइटले तिर्नुपर्ने हुन्छ।

सोझै हेर्दा स्पेक्ट्रलाइटले साढे ६ अर्ब रूपैयाँमै एजियटाको ८० प्रतिशत सेयर खरिद गरेको देखिन्छ। तर, उनीमाथि सामान्य तरिकाले अघि बढे पनि करिब ५० अर्ब रूपैयाँको दायित्व थपिएको छ।

अहिलेसम्म एजियटाले कति लाभांश लग्यो?

सन् २०१६ मा स्वीडिस दूरसञ्चार जायन्ट टेलियासोनेराको हिस्सा किनेर एजियटा नेपाल भित्रिएको थियो।

७ वर्षको अवधिमा एजियाटाले ६२ अर्ब ७४ करोड रूपैयाँ लाभांश लगिसकेको छ।

एजियाटाले रेनल्ड्स होल्डिङ कम्पनीलाई सन् २०१७ मा १ अर्ब ३५ करोड रिंगिट, २०१९ मा ६३ करोड रिंगिट र २०२० मा १२ करोड ८५ लाख रिंगिट लाभांश दिएको थियो।

एजियटाले किन छोड्यो एनसेल?

एनसेलको खरिदबिक्रीबारे यतिबेला थरीथरीका तर्कहरू बाहिर आइरहे पनि अधिकारीहरू नेपालमा लगानीका लागि अनुकूल वातावरण नभएका कारण एजियटा बाहिरिएको दाबी गर्छन्।

दूरसञ्चार ऐनमा भएका प्रावधान र करको लफडाका कारण एनसेलबाट एजियटा बाहिरिएको उनीहरूको भनाइ छ।

दूरसञ्चार ऐन २०५३ को दफा ३३ ले जम्मा पुँजीको ५० प्रतिशतभन्दा बढी विदेशी व्यक्ति वा संगठित संस्थाको लगानी भएको दूरसञ्चार सेवासँग सम्बन्धित जग्गा, भवन, यन्त्र, उपकरण तथा संरचनामा अनुमतिपत्रको अवधि समाप्त भएपछि नेपाल सरकारको स्वामित्व हुने व्यवस्था गरेको छ।

ऐनले टेलिकम कम्पनीको अवधि बढीमा २५ वर्ष हुने व्यवस्था गरेको छ।

एनसेललाई नेपाल दूरसञ्चार प्राधिकरणले जिएसएम सेलुलर मोबाइलको लाइसेन्स २०६१ भदौ १६ गते दिएको थियो।

ऐनअनुसार २०८६ भदौ १६ गते एनसेलसँग रहेको लाइसेन्सको अवधि सकिनेछ।

२०८६ भदौ १६ पछि एनसेलको स्वामित्व स्वतः नेपाल सरकारमा आउनेछ। यो जोखिमबाट जोगिन एजियटा एनसेलबाट बाहिरिएको हो।

एजियटाले देखेको अर्को जोखिम नवीकरण दस्तुर र फ्रिक्वेन्सी शुल्क हो। नवीकरणका लागि प्रत्येक पाँच वर्षमा २० अर्ब दस्तुर बुझाउनुका साथै फ्रिक्वेन्सीका लागि चर्को महसुल तिर्नुपर्ने भएकाले पनि एजियटाले सुरक्षित अवतरण खोजेको हो।

यसबाहेक ऐनको दफा ५७ ले पनि एजियटालाई एनसेलबाट बाहिरिन बाध्य बनाएको हाे।

सन् २०१६ मा स्विडिस दूरसञ्चार जायन्ट टेलियासोनेराको स्वामित्वमा रहेको रेनल्ड्स होल्डिङ लिमिटेड खरिद गरेपछि एजियाटा एनसेलको लगानीकर्ता बनेको थियो।

अजियटाले त्यतिबेला ८० प्रतिशत सेयर होल्ड गर्ने रेनल्ड्स होल्डिङेसको सतप्रतिशत सेयर खरिद गर्न १ अर्ब ३६ करोड रूपैयाँ खर्चेको थियो।

त्यतिबेला एजियटाले पुँजीगत लाभकर सरकारलाई तिरेन। ठूला करदाता कार्यालयले एनसेलको सेयर खरिद बिक्रीमा पुँजीगत लाभकर लगाउने प्रक्रिया सुरू ग¥यो।

 एनसेल ठूला करदाता कार्यालयको निर्णयविरूद्धसर्वोच्च अदालत पुग्यो। सर्वोच्चबाट विपक्षमा फैसला आएपछि एनसेल नेपाल सरकारविरूद्ध ‘इन्टरनेसल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आइसिएसआइडी)’ मा अर्बिट्रेसन ट्रिबुनलमा गयो।

तर, ट्रिबुनलले पनि नेपाल सरकारले तय गरेकै लाभकर तिर्नुपर्ने आदेश दियो। एनसेलले पुँजीगत लाभकर, लाभकरमा जरिवाना र ब्याजवापत झन्डै ६२ अर्ब रूपैयाँ चुकाउनुप¥यो। यसले एनसेल खरिदमा एजियाटाको लागत बढ्यो।

त्यतिबेला पुँजीगत लाभकर नतिरेपछि सरकारले आयकर ऐनको दफा ५७ लाई उपयोग गर्ने नीति लिएको थियो।

सर्वोच्च अदालत र आइसिएसआइडीमा पुँजीगत लाभकरसम्बन्धी विवाद टुंगिए पनि सरकारले अर्को प्रक्रियाबाट लाभकर असुल गर्न त्यतिबेला सुरू गरेको दफा ५७ को विवाद अझै किनारा लागेको छैन।

दफा ५७ मार्फत दोहोरो कर लाग्ने जोखिम एजियाटाले देख्यो। दफा ५७ बमोजिम थप कर तिर्नुप¥यो भने अजियाटाले फेरि ५५ अर्ब रूपैयाँभन्दा बढी रकम बुझाउनुपर्ने हुन्छ।

दोहोरो कर तिर्नुपर्ने जोखिम देखेको एजियटा एनसेलबाट बाहिरिने निष्कर्षमा पुगेको हो।

एकातिर बढ्दै गएको दायित्व र अर्कातिर खस्कँदै गएको व्यापारका कारण एजिटाले स्थानीय साझेदारलाई व्यापार हस्तान्तरण गरेको हाे।

घट्दो व्यापार

पछिल्लो पाँच वर्षमा एनसेलको व्यापार ओरोलो लागेको छ। सुरूवातका बेला वार्षिक ५८ अर्बभन्दा बढी आम्दानी गर्दै आइरहेको एनसेलको व्यापार पछिल्लो पाँच वर्षमा ओरालो लागेको छ।

पछिल्लो पाँच वर्षयता वार्षिक आम्दानी ३७ अर्बको औसतमा खुम्चिएको छ। 

वार्षिक ३० देखि २५ अर्ब लगानी गर्नुपर्ने र आम्दानी ३७ अर्बमा खुम्चिएपछि एजियाटाले जोखिम देखेको हुनसक्ने अनुमान गरिएकाे छ।

२०१५ जुनको तुलनामा २०२३ जुनमा एनसेलको व्यापार ३३.८ प्रतिशतले घटेको छ। 

यसका साथै सन् २०२४ देखि २०२९ सम्मको अवधिमा एनसेलले लाइसेन्स नवीकरणका लागि २० अर्ब रूपैयाँ बुझाउनुपर्ने दायित्व छ। त्यसपछि पनि लाइसेन्स तथा कम्पनीको विषयमा कुनै सुनिश्चतता नभएको कारण एनसेलबाट बाहिरिएको एजियाटाको तर्क छ।

एनसेलमा बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ।

एजियाटाले आफ्नो हिस्साको ८० प्रतिशत सेयर बेचेको स्पेक्ट्रलाइट युके प्रालि २०२३ सेप्टेम्बरमा मात्रै खुलेको कम्पनी हो।

जसमा सतिशलाल आचार्यको एकल लगानी छ। स्थानीय साझेदार सुनिभेरामा समेत आचार्य परिवारकै स्वामित्व रहेको बताइएको छ।

 

 

 

Tags: