post-slider post-slider

उपप्राध्यापक चलाउनेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

Image
A A

काठमाडौं- उपप्राध्यापक प्रेमबहादुर चलाउनेले दायर गरेको रिटमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

आफूलाई आक्रमण गर्ने व्यक्तिहरूविरूद्ध मुद्दा नचलाउने निर्णय बदर गर्न माग गर्दै उनले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुन लागेको हो।

रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ।

आक्रमण गर्ने व्यक्तिहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक चलाउनेले बुधबार सर्वोच्चमा रिट दर्ता गरेका थिए।

सरकारको निर्णय महान्यायाधीवक्ता कार्यालय हुँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई आक्रमणकारीहरूविरूद्धको मुद्दा फिर्ता लिन आइतबार निर्देशन दिइएको थियो।

उक्त निर्देशनपछि मुद्दा फिर्ता लिन सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा फिर्ताको निवेदन पेस गरिसकेको छ।

यद्यपि यो विषयमा जिल्ला अदालत काठमाडौंले हालसम्म कुनै निर्णय भने गरिसकेको छैन।

त्रिभुवन विश्वविद्यालयमा सामाजशास्त्रका उपप्राध्यापक रहेका चलाउनेमाथि त्रिवि परिसरभित्रै २०७७ असोज २० गते आक्रमण भएको थियो।

नेविसंघआवद्ध योगेन्द्रबहादुर रावल, हरिप्रसाद आचार्य, रूपेश शाह, रविनकुमार लामा, सयुज श्रेष्ठ, दीपकराज ओझासहितले कुटपिट गरी चलाउनेलाई घाइते बनाएका थिए।

घटनापछि उनीहरूविरूद्ध जिल्ला अदालत काठमाडौंमा ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको हो।

चलाउनेले रिटमा सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्।

मुद्दा फिर्ता लिने सरकारको निर्णयविरूद्ध उपप्राध्यापक चलाउने उपकुलपति कार्यालयअघि आमरण अनशनमा बसेका छन्।

उनको अनसनप्रति १० जना पूर्वउपकुलपतिहरूले एक्येबद्धता जनाएका छन्।

 

Tags: