मोदीलाई ‘आतंककारी’ भन्ने माल्दिभ्सका तीन मन्त्री निलम्बित
काठमाडौं- माल्दिभ्सले भारत र त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक टिप्पणी गर्ने तीन मन्त्रीलाई निलम्बन गरेको छ।
उनीहरूले सामाजिक सञ्जाल पोस्टमा प्रक्रिया दिँदै मोदीलाई ‘विदूषक’, ‘आतंककारी’ र ‘इजरायलको कठपुतली’ भनेका थिए।
मोदीबारे त्यस्तो टिप्पणी गरिएको भोलिपल्ट भारतले माल्दिभ्सका उच्चायुक्तलाई स्पष्टीकरण दिन बोलाएको छ।
माल्दिभ्सको विदेश मन्त्रालयलका एक प्रवक्ताले ती टिप्पणीहरू व्यक्तिगत भएका र तिनले सरकारको धारणा प्रतिनिधित्व नगर्ने बताए।
ती मन्त्रीहरूको टिप्पणीले भारतीय सामाजिक सञ्जालमा खैलाबैला मच्चाएपछि माल्दिभ्सको प्रतिक्रिया आएको हो।
सोमबार माल्दिभ्सका दिल्लीस्थित उच्चायुक्त इब्राहिम शाहिबलाई भारतीय विदेश मन्त्रालयबाट बाहिरिँदै गरेको देखिएको थियो।
माल्दिभ्सका लागि भारतीय उच्चायुक्त पनि मालेमा त्यहाँको विदेश मन्त्तालय गएका थिए।
तर भारतीय उच्चायुक्तको कार्यालयले मुनु महावर एउटा पूर्वनिर्धारित बैठकका लागि गएको बताएको छ।
राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयका प्रवक्ताले त्यस्ता टिप्पणी गर्ने सबै अधिकारीलाई तत्कालै लागु हुनेगरी निलम्बन गरिएको बताएका छन्।
गत वर्ष सत्तामा आएका मुइज्जुले गत वर्ष झन्डै ७५ भारतीय सैनिकलाई मालल्दिभ्स छाड्न आग्रह गरेपछि भारत र उक्त टापुराष्ट्रबीच तनाव उत्पन्न भएको थियो।
निलम्बित हुनेमा मल्शा शरीफ, मरियम शिउना र अब्दुल्ला महजुम मजिद छन्।
उनीहरूलाई बर्खास्त गर्न माग गरिएको भए पनि माल्दिभ्सका सञ्चारमाध्यमहरुले ती मन्त्रीलाई निलम्बनमात्र गरिएको जनाएका छन्।