post-slider post-slider

‘राजनीतिमा पुस्ताको कुरा 'फेक' र मनगढन्ते हो’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका नेता नारायण खड्काले राजनीतिमा पुस्ताको कुराले केही अर्थ नराख्ने बताएका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘हाम्रो पदाधिकारी साथीहरूबाट सुन्ने गर्छु, पुस्ताको कुरा। अहिलेको पुस्ताबाट प्रधानमन्त्री हुनुपर्छ भनेर,’ खड्काले भने,‘निर्वाचित पदाधिकारीबाट नआएको भए यसलाई खासै महत्व दिँदिनथिएँ। सभापतिज्यू बहुदलीय व्यवस्थामा पुस्ता भन्ने कुरा हुँदैन। पुस्ता भन्ने कुरा बडो फेक र मनगढन्ते कुरा हो।’

पुस्ता नभएर योगदान, भूमिकालगायतका कुरालाई ध्यान दिनुपर्ने उनको भनाइ छ।

उनले बैठकमा पार्टी एकताको एजेन्डा पनि पेश हुनुपर्ने बताए।

‘यहाँ जतिसुकै संगठन विस्तारको कुरा गरे पनि भोलि जिल्लामा जाँदा को नेता आयो?, कुन गुटको आयो?भन्ने कुराहरू हेर्ने चलन छ,’ उनले भने,‘हामीले यहाँबाट बैठक अन्त्य गरेर जाँदै गर्दा भावनात्मक एकतालाई कसरी अगाडि बढाउने त्यो महत्वपूर्ण हुन्छ। यसबारे लिखित प्रस्ताव आएको भए अत्यन्तै राम्रो हुन्थ्यो।’

 

Tags: