post-slider post-slider

घरमै ‘थुनिए’ पछि प्रसाईंले दायर गरे बन्दी प्रत्यक्षीकरण निवेदन

Image
A A

काठमाडौं- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका छन्।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेको भन्दै मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दर्ता गराएका हुन्।

उनले बन्दी प्रत्यक्षीकरणको आदेशमा ‘गैरकानुनी थुनाबाट मुक्त गरी पाऊँ’ भनेर माग गरेका छन्।

वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन्।

बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गरेका प्रसाईं नेतृत्वको समूहले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेको थियो।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा प्रदर्शनका लागि अनुमति दिएको थिएन।

प्रहरीले तीनकुने क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो भने प्रसाईंका केही समर्थकलाई पक्राउ गरेको थियो।

प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले प्रसाईंलाई सुरक्षाका लागि निगरानीमा राखिएको बताएकी छन्।

उनलाई नजरबन्दमा नभइ सुरक्षा चुनौतीका कारण निगरानीमा राखिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ छ।

‘उहाँकै सुरक्षाका कारण हामीले उहाँ र उहाँका कार्यकर्तालाई सुरक्षासहित निगरानीमा राखेका हौं, यो स्थान हद वा नजरबन्द केही होइन,’ उनले भनिन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले व्यवसायी प्रसाईंले तीनकुने क्षेत्रमा प्रदर्शनका लागि अनुमति नलिएको बताए।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति  र नागरिक बचाउ महाभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, विशिष्ट पदाधिकारीको निवास घेराउ गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिएको बस्नेतले बताए।

उनले कानुन हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनीस्वरूप अनुमतिविना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको उल्लेख गरे।

तीनकुने क्षेत्रमा जान नपाएपछि प्रसाईंका समर्थहरूले होटेलको आँगनमै प्रदर्शन गरेका छन्।

भक्तपुरस्थित प्रसाईंको निवासमा प्रहरी परिचालन गरिएपछि त्यसको विरोधमा उनका समर्थकहरूले होटल परिसरभित्र प्रदर्शन गरेका हुन्।

 

Tags: