post-slider post-slider

गलेका हुन् प्रसाईं, सकिएको हो आन्दोलन?

Image
A A

काठमाडौं- ‘कहाँ छन्? खोइ राजा आए त?’

यी र यस्ता प्रश्नहरूले यतिबेला सामाजिक सञ्जाल छ्यापछ्यापी छ। खासमा यो मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरू गरेको आन्दोलनलाई लक्षित गरेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट गरिएको व्यङ्ग्यहरू हुन्।

व्यवस्था नै उल्टाइदिने भन्दै प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलन गर्ने उद्घोष गरेका थिए। 

उनको यो उदघोषपछि धेरैको प्रश्न थियो– मंसिर ७ पछि के हुन्छ? केही होला कि?

प्रसाईंले ७ मंसिरमा काठमाडौंको सडकमा तीन लाखभन्दा बढी मानिस उतार्ने दाबी गरेका थिए। र, सडकमा उत्रिने ती मानिसहरूले अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक  व्यवस्थालाई राजालाई फर्काउने चेतावनी थियो, प्रसाईंको।

सुरूमा वित्तीय संस्था तथा बैंकहरूको ऋणबाट ऋणीलाई मुक्ति दिलाउने अभियान सुरू गरेका प्रसाईं अहिले व्यवस्था परिवर्तनलाई मुख्य एजेन्डा बनाएर राजाको पक्षमा आन्दोलन अगाडि बढाइरहेका छन्।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ मार्फत आन्दोलन अगाडि बढाइरहेका प्रसाईं संघीयता र गणतन्त्रमाथि ‘धावा’ बोल्दै १७ वर्षअघि गद्दी छोडिसकेका राजालाई फर्काउने अभियानमा जुटेका छन्।

राजा फर्काउने अभियानमा जुटेका प्रसाईं नेतृत्वको आन्दोलन चार दिन नबित्दै लगभग सकिएको छ।

प्रसाईंले दाबी गरे जस्तो लाखौंको संख्यामा नआए  पनि पहिलो दिन उल्लेख्य  संख्यामै प्रदर्शनकारीहरू सडकमा देखिएका थिए। प्रदर्शनका कारण बल्खु क्षेत्र केही तनावग्रस्त पनि बन्यो।

तर, त्यसपछि क्रमशः प्रदर्शनकारीहरू घट्दै गएपछि आन्दोलन  स्थगित नै भएको छ।

पहिलो दिनको प्रदर्शनकारीको उपस्थितिले हौसिएका प्रसाईंले आन्दोलनलाई निरन्तरता दिने घोषणा गरे। दोस्रो दिन तीनकुनेको प्रदर्शनमा आफैं उपस्थित हुने उदघोष गरेका थिए उनले।

तर, प्रसाईंले जनताको साथ पाउन सकेनन्।

प्रसार्इंंको ‘अराजक’ अभिव्यक्तिपछि स्थानीय प्रशासनले शुक्रबार तीनकुने क्षेत्रमा प्रदर्शनका लागि अनुमित नै दिएन।

त्यसैगरी प्रहरीले निगरानीमा राखेर प्रसाईंलाई त्यसदिन भक्तपुरस्थित घरबाट बाहिर निस्कनै दिएन। 

प्रसाईंले आफूलाई गैरकानुनी तरिकाबाट नजरबन्द गरिएको दाबी गरे। स्थानीय प्रशासनले उनकै सुरक्षालाई मध्यनजर गरेर निगरानीमा मात्रै राखेको प्रष्टिकरण दियो।

तीनकुने क्षेत्रमा केही संख्यामा देखिएका प्रदर्शनकारीलाई प्रहरीले तत्कालै पक्राउ गरिहाल्यो।

प्रदर्शनका लागि तीनकुने क्षेत्र रोजेका प्रसाईं स्थानीय प्रशासनबाट अनुमति नपाएपछि अन्ततः सिफल जान राजी भए।

प्रशासनले प्रदर्शनका लागि  उनलाई सिफल मैदान उपलब्ध गराइदियो।

त्यहाँ पनि उनको समर्थकको संख्या पातलो थियो। प्रहरीको स्कर्टिङमा सिफल पु¥याइएका प्रसाईंले कोणसभालाई सम्बोधन गरे।

प्रसाईं मिडियामाथि मात्रै खनिएनन् स्त्रीद्वेषी सम्बोधन पनि गरे। चेलीबेटीलक्षित उनको टिप्पणीलाई लिएर चर्को आलोचना भइरहेको छ।

प्रसाईं समूहले आइतबार भक्तपुर दरबार क्षेत्रमा कार्यक्रम गर्ने तय गरेको थियो। तर, यो कार्यक्रम पनि स्थगित भएको छ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले भक्तपुर दरबार क्षेत्रमा गरिने भनिएको कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको अभियानले जनाएको छ।

भक्तपुर दरबार क्षेत्रमा हुने भनिएको कार्यक्रमको सट्टा प्रसाईं समूहले आज सांस्कृतिक कार्यक्रम गर्दैछ।

सांस्कृतिक कार्यक्रम कलंकी चोक, बालाजु चोक, बिजी मल र रत्नपार्कमा हुने अभियानले जनाएको छ।

ठूलो बलिदान र वर्षौंको संघर्षपछि नेपाली जनताले राजतन्त्र फ्यालेर नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याए। राजनीतिक दल र तिनका नेताहरूको व्यवहारका कारण यतिबेला नागरिकमा ठूलो असन्तुष्टि देखिएको छ।

नेपाली नागरिकको त्यही असन्तुष्टिको फाइदा लिन मेडिकल व्यवसायी प्रसाईंले व्यवस्था र प्रणालीलाई नै चुनौतीदिन आन्दोलनको घोषणा गरे।

तर, जनताको यो असन्तुष्टि राजनीतिक प्रणालीप्रति नभएर नेतृत्व र राजनीतिक दलको कार्यशैलीप्रति मात्रै रहेको प्रसाईंले सायद ठम्याउन सकेनन्।

नेपाली जनताले व्यवस्था परिवर्तन खोजेका होइनन्। उनीहरूले खोजेका परिवर्तन नेतृत्व र राजनीतिक दलको कार्यशैली हो।

 

 

Tags: