post-slider post-slider

टि–२० विश्वकप खेल्न युएइलाई हराउनै पर्ने दबाबमा नेपाल, यस्तो छ ‘हेड टू हेड’

Image
A A

काठमाडौं- टि–२० विश्वकप एसिया छनोट प्रतियोगिताअन्तर्गत शुक्रबार दुईवटा सेमिफाइनल खेल भइरहेका छन्।

समूह चरणका खेलबाट शीर्ष दुई–दुई टिमबीच सेमिफाइनल खेल हुन लागेको हो।

समूह ‘बी’ का विजेता युएइ र समूह ‘ए’ का उपविजेता नेपालबीच बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सेमिफाइनल प्रतिस्पर्धा हुँदैछ।

त्यस्तै समूह ‘ए’ को विजेता ओमान र समूह ‘बी’ को उपविजेता बहराइनबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजे नै अर्को सेमिफाइनल हुनेछ।

आइसिसीको नियमअनुसार छनोट प्रतियोगिताअन्तर्गतको फाइनल खेलका विजेता र उपविजेता टिम आगामी वर्ष हुने टि–२० विश्वकपका लागि चयन हुनेछन्।

एसिया क्षेत्रबाट विश्वकपका लागि छनोट हुन नेपाल कम्तिमा फाइनलमा पुग्नुपर्ने हुन्छ। र, त्यसका लागि शुक्रबारको सेमिफाइनल खेलमा युएइलाई पराजित गर्न जरूरी हुन्छ।

सेमिफाइनल खेलमा नेपालका खेलाडीहरू युएइलाई पराजित गर्ने उद्देश्यका साथ मैदानमा उत्रिनेछन्। 

यसअघि भएका अधिकांश खेलहरूमा नेपालले युएइलाई पराजित गरेको तथ्यांकले देखाउँछ।

नेपाल र युएइ अहिलेसम्म १५ पटक आमनासामना गरिसकेका छन्। जसमध्ये नेपालले ९ र युएइले ६ वटा म्याचमा जित हासिल गरेको छ।

सेमिफाइनल प्रतिस्पर्धामा युएइविरूद्ध पुरानै तथ्यांकलाई निरन्तरता दिने प्रयास नेपालको हुनेछ।

सेमिफाइनलमा नेपालले युएइलाई पराजित गरे सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकपका लागि एसिया क्षेत्रबाट छनोट हुनेछ।

 

Tags: