post-slider post-slider

चीनमा शक्तिशाली भूकम्प, सयबढीको मृत्यु

Image
A A

काठमाडौं- पश्चिमोत्तर चीनमा सोमबार राति गएको भूकम्पमा परेर कम्तिमा १११ जनाको मृत्यु भएको छ भने २२० जना घाइते भएका छन्।

गान्सु प्रान्तमा मध्यराति भूकम्प गएको थियो। त्यहाँ र छिमेकी चिन्खाई प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय युएसजीएसले यो भूकम्प ५.९ म्याग्निच्युडको रहेको जनाएको छ।

केही घण्टापछि शिन्जियाङ प्रान्तमा पनि भूकम्पको दोस्रो झड्का महसुस गरिएको थियो।

दोस्रोपटक गएको भूकम्प ५.५ म्याग्निच्युडको रहेको जनाइएको छ।

चीनका राष्ट्रपति सि जिन्पिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

आपतकालीन उद्धारकर्ताहरूले चिसो मौसमको सामना गर्दै चीनमा गरिबी धेरै भएका इलाकाहरूमध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्।

त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियसभन्दा कम रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

सरकारले स्थानीय उद्धारकर्ताहरूलाई सहयोग गर्न थप जनशक्ति पठाएको छ।

सरकारी सञ्चारमाध्यमले मंगलबार बिहान दिएको जानकारीअनुसार गान्सुमा सय जनाको मृत्यु र ९६ जना घाइते भएका छन् भने चिन्खाई प्रान्तमा ११ जनाको मृत्यु हुनुका साथै १२४ जना घाइते भएका छन्।

ती क्षेत्रमा पानी र बिजुली आपूर्ति अवरूद्ध भएको बताइएको छ।

 

Tags: