सर्लाहीको बरहथवामा लाग्यो कर्फ्यु
जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा कर्फ्यु लगाएको छ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुनसक्ने स्थिति देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय बरहथवा नगरपालिकामा कफ्र्यु आदेश जारी गरेको हो।
जिल्ला प्रशासन कार्यालयले बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती / चोर्निया पुल क्षेत्रमा कफ्र्यु लगाएको हो।
कर्फ्यु शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्म जारी रहने प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।
कर्फ्यु आदेशभर आवतजावत नगर्न, भेला नहुन, बाहिर हिँडडुल नगर्न एवं कुनै प्रकारको उच्छृंखल गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले भनेको छ।
बरहथवा नगरपालिकाको अस्पतालको विषयलाई लिएर झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएपछि तनाव बढेको छ।
प्रहरीले चलाएको गोली लागेर बरहथवा–६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको छ। उनको टाउकोमा गोली लगाएको बताइएको छ।
नगरप्रमुख कल्पना कटुवालको घरमा प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।
नगरपालिकास्थित नगर अस्पताललाई प्रदेस अस्पतालमा गाभ्ने कि नगाभ्ने विषयमा विवाद हुँदा तनाव सिर्जना भएको हो।
नगर अस्पताललाई प्रदेस अस्पतालमा हस्तान्तर गर्ने कि नगर्ने विषयमा विवाद हुँदै आएको थियो। विवाद समाधानका लागि नगरपालिकाले शुक्रबार सर्वदलीय बैठक बोलाएको थियो।
नगरपालिकाले सूचना जारी गरेर सर्वदलीय बैठक स्थगित गरेपछि विवाद उत्पन्न भएको हो।
अस्पतालको विषयलाई लिएर करिब दुई सातादेखि बरहथवा नगरपालिकाअगाडि नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा र बहुजन एकता पार्टीसहित पाँचदलीय गठबन्धनले आन्दोलन गर्दै आएको थियो।
१५ शय्याको नगर अस्पताललाई ५० शय्याको बनाउने सहमति गर्दै मधेस प्रदेसलाई हस्तान्तर गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएको नगर प्रमुख कटुवालले बताइन्।
सर्वदलीय बैठक बोलाइए पनि पाँच राजनीतिक दलहरूले संयुक्त विज्ञप्तिमार्फत बैठकलाई प्रभावित पार्न खोजेको उनको भनाइ।
बैठक बस्न नसकेपछि नगरपालिकाले सूचना जारी गरेर स्थगित गरेको कटुवालले बताइन्।
बैठक स्थगित भएपछि पाँच दलले बजार, सार्वजनिक यातायातलगायत सम्पूर्ण संघसंस्थाहरू बन्द गर्ने निर्णय गर्दै आन्दोलन सुरू गरेको थियो।
प्रमुख कटुवालले आन्दोलनकारीले नगरपालिका कार्यालयमा ढुंगामुढा गर्नुका साथै आफ्नो घरमा तोडफोड र एउटा गाडीमा आगजनी गरेको बताइन्।