post-slider post-slider

सर्वोच्च अदालतले दियो रामदेवलाई झट्का, भन्यो - योग शिविर चलाएकाे सेवा कर तिर्नू

Image

नयाँदिल्ली - योग गुरु रामदेवका लागि  पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन। 

अब रामदेवका योग शिविरहरू पनि सेवा करको दायरामा परेका छन्। सर्वोच्च अदालतको फैसलापछि अब स्वामी रामदेव र पतञ्जली योगपीठ ट्रष्टले योग शिविर आयोजना गर्दा  ‘सेवा कर’ तिर्नुपर्ने भएको छ।

सर्वोच्च अदालतमा अप्रिल १९ मा सुनुवाइका क्रममा न्यायाधीश अभय एम ओक र न्यायाधीश उज्ज्वल भुइँयाको इजलासले भन्सार, अन्तःशुल्क, सेवा कर पुनरावेदन न्यायाधिकरण (सेस्टाट) को फैसला सदर गरेको थियो।

पिटिआई रिपोर्टका अनुसार ट्राइब्युनलले पतञ्जली योगपीठ ट्रस्टलाई आवासीय र गैरआवासीय योग शिविरहरू आयोजना गर्न सेवा कर तिर्न आवश्यक रहेको जनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सो विरुद्ध पतञ्जलीले सर्वोच्च अदालतमा याचिका दायर गरेको थियो। पतञ्जली योगपीठ ट्रस्टले स्वामी रामदेवको योग शिविरमा सहभागी हुन प्रवेश शुल्क लिने गरेको छ।

न्यायाधीश ओक र न्यायाधीश भुइँयाको इजलासले आफ्नो फैसलामा सेस्टाटको निर्णय सही भएको र भन्यो, ‘शिविरमा प्रवेश शुल्क लिएर गरिने सेवा होइन, याे 'व्यापार' हाे। न्यायाधिकरणको आदेशमा हस्तक्षेप गर्नुपर्ने कुनै कारण देख्दैनौं। त्यसैले पतञ्जली योगपीठ ट्रस्टको अपील खारेज हुन्छ।’

रामदेवकाे ट्रस्ट धेरै आवासीय र गैरआवासीय शिविरहरूमा योग तालिम प्रदान गर्न संलग्न छ। तर, उसले त्यससका लागि सहभागीबाट चन्दास्वरूप शुल्क लिइएको जनाउँदै आएको थियो।

उसको तर्क थियो, यो रकम चन्दाको रुपमा संकलन गरिएको हो। तर, सेस्टाटले वास्तवमा यो विभिन्न सेवाहरूको लागि लिएको शुल्क हो, चन्दा भने होइन भन्ने तर्क गरेकाे थियाे।

तर, रामदेवकाे ट्रस्टले  सेस्टाटका अगाडि तर्क गरेको थियो कि ‘स्वास्थ्य र फिटनेस सेवाहरू’ कर योग्य छैन किनभने याे कार्य चिकित्सा उपचारका लागि होइन, शारीरिक तन्दुरुस्तीका लागि विस्तार गरिएकाे हाे। शिविरमा सहभागीहरुबाट जे पाएको छ, त्यो स्वेच्छिक चन्दा भएको ट्रष्टले जनाएको थियो।

ट्रस्टको यस तर्कमा सेस्टाटले यो रकम स्वास्थ्य र फिटनेस सेवा अन्तर्गत करबाट बच्ने प्रावधानबाहेक केही नभएको स्पष्ट पारेको छ।

ट्रस्टको अपील अस्वीकार गर्दै उसले वित्त ऐन १९९४ मा ‘स्वास्थ्य र फिटनेस सेवा’ को परिभाषा व्याख्या गरेको थियो।

जसअनुसार स्वास्थ्य तथा तन्दुरुस्ती सेवामा स्लीपिङ, टर्किस एण्ड स्टिम बाथ, सोलारियम, स्पा, स्लिमिङ सैलुन, जिम, योगा, मेडिटेशन, मसाजलाई समावेश गरिएको छ।

Tags: