post-slider post-slider

भारतसँग नेपाल १० विकेटले पराजित

Image
A A

काठमाडौं- कप्तान रोहित शर्मा र सुभमन गिलको शतकीय साझेदारीप्रेरित भारतले एसिया कप–२०२३ मा नेपाललाई १० विकेटले पराजित गर्दै सुपर फोरमा स्थान पक्का गरेको छ।

सोमबार श्रीलंकाको पालेकेले रंगशालामा सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्दति (डीएलएस) अनुसार पाएको २३ ओभरमा १४५ रनको लक्ष्य २०.१ ओभरमा पूरा गरेको हो।

जितसँगै भारत तीन अंकसहित सुपर फोरमा प्रवेश गरेको छ। हारसँगै एसिया कपमा नेपालको पहिलो सहभागिता जितविहीन टुंगिएको छ।

भारतको जितमा कप्तान रोहित शर्माले ७४ रन बनाए। रोहितसँगै अविजित रहेका सुभमन गिलले ६३ रन जोडे। नेपालका कुनै पनि बलरले यी दुईबीचको १४५ रनको अविजित साझेदारी तोड्न सकेनन्। 

दोस्रो इनिङ्सको तेस्रो ओभर चलिरहँदा वर्षा भएपछि खेल करिब एक घण्टा अवरुद्ध भएको थियो। त्यसपछि डीएलएस अनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्यसहित खेल पुनः सुरु भएको थियो। 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आसिफ शेखको अर्धशतकमा ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको योगफल जोडेको थियो।

आसिफले ५८ रन बनाएका थिए। भारतविरुद्ध नेपालका ओपनरद्वय आसिफ र कुशल भुर्तेलले उत्कृष्ट सुरुआत गरेका थिए। यी दुईले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै पहिलो पावर प्लेमा भारतीय बलिङलाई दबाबमा राखेका थिए। तर, ९.५ ओभरमा कुशल भुर्तेल आउट भएपछि नेपालले यो लयलाई अन्त्यसम्म कायम राख्न सकेन।

भारतविरुद्ध आक्रामकरूपमा प्रस्तुत भएका कुशल भुर्तेलले २५ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए। नेपाली टिमको खातामा दीपेन्द्रसिंह ऐरीले २९ रन थपे। १४४–६ को अवस्थामा नेपालको स्कोरबोर्ड रहँदा दीपेन्द्रले सोमपाल कामीसँग ५० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म डोहोर्‍याएका थिए। सोमपाल कामीले ५६ बलमा एक चौका र दुई छक्कासहित ४८ रन थपे।

गुल्सन झाले ३५ बलमा तीन चौकासहित २३ रन थपे। नेपालका अन्य ब्याटरको प्रदर्शन भने उल्लेखनीय रहेन। पाकिस्तानविरुद्ध गोल्डेन डक भएका कप्तान भारतविरुद्ध पनि ब्याटिङमा चल्न सकेनन् । उनी पाँच रनमा पभेलियन फर्किए । आरिफ शेखको स्थानमा मौका पाएका भीमले पनि टिमको खातामा सात रनमात्र थपे । सन्दीप लामिछानेले नौ रन बनाए । कुशल मल्ल दुई रन र ललितनारायण राजवंशी शून्यमै आउट हुँदा करण केसी दुई रनमा अविजित रहे ।

भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन विकेट लिए । हार्दिक पन्ड्या, शार्दूल ठाकुर र मोहम्मद सामीले समान एक विकेट लिए ।

 

Tags: