post-slider post-slider

विश्वकप : च्याम्पियन्स ट्रफीमा स्थान पक्का गर्ने दबाबमा श्रीलंका र बंगलादेश

Image
A A

काठमाडौं- आइसिसी विश्वकप क्रिकेटअन्तर्गत सोमबार श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।

दिल्लीस्थित अरुण जेटली क्रिकेट मैदानमा दिउँसो साढे दुई बजेदेखि दुवै टिमबीच प्रतिस्पर्धा हुन लागेको हो।

सन् १९९६ को विश्व विजेता रहिसेको श्रीलंकाले जारी विश्वकपमा प्रभावकारी प्रदर्शन गर्न सकेको छैन।

९ मध्ये ७ म्याच खेलेको श्रीलंकाले जम्मा २ खेलमात्रै जित्न सकेको छ। ७ वटा खेलमा हार बेहोरेको श्रीलंका यसपालिको विश्वकपको ‘रेस’ बाट बाहिरिइसकेको छ।

यो विश्वकपमा श्रीलंकाले भारत, अफगानिस्तान, अस्ट्रेलिया, पाकिस्तान र दक्षिण अफ्रिकासँग हारको सामना गर्नुपरेको छ।

इंग्ल्यान्ड र नेदरल्यान्ड्सविरूद्ध जित हासिल गरेको यो टिमले अब बंगलादेश र न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

विश्वकपमा सहभागी अर्को एसियाली टिम बंगलादेशको पनि श्रीलंकाको भन्दा धेरै फरक स्थिति छैन।

७ म्याच खेलेको बंगलादेशले ६ मा हार बेहोरिसकेको छ। बंगलादेशलाई पाकिस्तान, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, भारत, न्युजिल्यान्ड र इंग्ल्यान्डले पराजित गरेको छ।

अब बंगलादेशले सोमबार श्रीलंका र त्यसपछि अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। अंकतालिकाको आँकडाअनुसार बंगलादेश पनि जारी विश्वकपबाट बाहिरिने टिममध्ये एक हो।

सोमबारको विश्वकपअन्तर्गतकै प्रतिस्पर्धा हुने भए पनि श्रीलंका र बंगलादेश दुवैको नजर सन् २०२५ मा हुन लागेको आइसिसी च्याम्पियन्स ट्रफीतिर हुनेछ।

आइसिसीको नियमअनुसार आयोजक मुलुकका साथै विश्वकपका शीर्ष आठ टिम च्याम्पियन्स ट्रफीका लागि छनोट हुन्छन्।

जारी विश्वकपको पछिल्लो अंकतालिकाअनुसार श्रीलंका सातौं र बंगलादेश नवौं स्थानमा रहेको छ।

त्यसैले सोमबार बंगलादेशविरूद्ध जित हासिल गरेर च्याम्पियन्स ट्रफीमा स्थान पक्का गर्नतर्फ श्रीलंकाको नजर हुनेछ।

न्युजिल्यान्डविरूद्धको खेलमा परिणाम सोचेकोभन्दा विपरित हुनसक्ने बुझाइमा रहेको श्रीलंका बंगलादेशसँग जित हासिल गर्ने दबाबमा रहेको छ।

त्यस्तै श्रीलंकालाई पराजित गरेर च्याम्पियन्स ट्रफीका लागि स्थान पक्का गर्न बंगलादेश पनि चाहेको छ।

दिल्लीमा श्रीलंकालाई पराजित गरेर बंगलादेश अंकतालिकाको आठौं स्थानमा पुग्न चाहेको छ।

विश्वकपमा निराशाजनक प्रदर्शन गरेको डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड अहिलेसम्म सातमध्ये ६ खेल हारेर च्याम्पियन्स ट्रफी गुमाउने लगभग निश्चित भइसकेको छ।

 

 

Tags: