post-slider post-slider

निर्दोष फस्ने छैन, दोषी उम्कँन पाउँदैन : गृहमन्त्री श्रेष्ठ

Image
A A

चितवन- उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्दोष नफस्ने दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताएका छन्।

शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने र निर्दोष नफस्ने बताए। तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा नगर्ने उनले प्रस्ट पारे।

‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन,’ गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौँ। हामी त्यस्तो कुरा गर्दैनौँ। निर्दोष फस्ने र दोषी उम्किने हुँदैन। तपाईँहरू काम गर्नुस् भनेका छौँ। प्रहरीले त्यसैगरी कम गरिरहेको छ।’

तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको उनको भनाइ थियो। अनुसन्धान र कारबाहीमा प्रहरीलाई कुनै दबाब नदिएको उनले प्रस्ट पारे।

गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभई तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिए। अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको जिकिर गरे।

चितवनमा उत्पादन भएको पशुका लागि तयार पारिने साइलेज चीन निर्यात गर्ने कार्यक्रमको उद्घाटनका लागि श्रेष्ठ चितवन पुगेका हुन्।

Tags: