.png)

मिटरब्याजीले हडपेको ४१ बिघा बढी जग्गा फिर्ता
.jpg)
काठमाडौं- अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजीले हडपेको ४१ बिघाभन्दा बढी जग्गा ऋणीलाई फिर्ता गराएको छ।
काम सुरू गरेको डेढ महिनामा आयोगले ऋणीहरूलाई ४१ बिघा ८ कठ्ठा ११ धुर जग्गा फिर्ता गराएको हो।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले हालसम्म साहुबाट ऋणीलाई यो जग्गा फिर्ता गराइएको बताएका छन्।
अध्यक्ष कार्कीले आइतबार विज्ञप्ति निकालेर ‘विभिन्न जिल्लामा साहुहरूबाट अदालतको फैसलाबाट जितेका, साहु वा उनका मान्छेका नाममा ऋणी आसामीबाट राजीनामा पास गराएका, बन्धीलगायतका जग्गा पीडित ऋणीलाई फिर्ता गराइएको छ’ जानकारी दिएका छन्।
आयोगले २०८० वैशाख १७ देखि जेठ १४ गतेसम्म पीडितबाट निवेदन संकलन गरेको थियो।
निवेदनहरू आइसकेपछि मेलमिलापबाट समस्या समाधानका लागि पहल गरेको कार्कीले बताएका छन्।
मिटरब्याजबाट पीडित भएको भनी आयोगमा हाल करिब २४ हजार उजुरी परेको छ।
तीमध्ये मधेसका ८ जिल्लाका मात्र १८ हजारभन्दा धेरै उजुरी रहेका छन्।
उजुरीमध्ये डेढ महिनामा १ हजार ८८२ वटा निवेदन मेलमिलापबाट समस्या समाधान गरिएको विज्ञप्तिमा जनाइएको छ।
उजुरीमा मिटरब्याज पीडितले ८९ करोड ८० लाख १४ हजार ४७३ रूपैयाँको लेनदेन भएको दाबी गरेका थिए।
साहुहरूले भने १ अर्ब ७१ करोड २८ लाख ८२ हजार ७९६ रूपैयाँ साँवाब्याज असुल हुनुपर्ने माग गरेका थिए।
तर, ऋणीले ५६ करोड ७४ लाख ४७ हजार ४७० रूपैयाँ तिर्नेगरी दुवै पक्षबीच सहमति भएको अध्यक्ष कार्कीले बताएका छन्।