इन्जिनियरिङको प्रवेश परीक्षा स्थगित, सरोकारवालालाई वार्तामा आउन आइओईको आग्रह
काठमाडौं- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले बिई÷बिआर्कको प्रवेश परीक्षा स्थगित गरेको छ।
शुल्कवृद्धिविरूद्ध चौतर्फी आलोचना र प्रदर्शन भएपछि आइआईले इन्जिनियरिङको प्रवेश परीक्षा स्थगित गरेको हो।
भदौ १९ पछिका सम्पूर्ण पूर्वप्रकाशित तालिकाहरू अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि प्रवेश परीक्षा स्थगित गरिएको आइओईले जनाएको छ।
‘त्रिवि (ई.अ.संं) ले मिति २०८० / ५ / ५ देखि सञ्चालन गरेको (बिई÷बि.आर्क) को प्रवेश परीक्षा र सार्वजनिक गरेको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरूबाट चासो र विरोध व्यक्त गरिएकाले प्रवेश परीक्षासम्बन्धि २०८० / ५ / १९ पछिका सम्पूर्ण पूर्वप्रकाशित तालिकाहरू अर्को सूचना प्रकाशित नहुँदासम्म लागि स्थगन गरिएको यसै सूचनामार्फत जानकारी गराउँदछौं,’ आइओईले आइतबार निकालेको विज्ञप्तिमा भनिएको छ।
आइओलीले समस्या समाधानका लागि वार्तामा आउन पनि आन्दोलनरत पक्षलाई आग्रह गरेको छ।
आइओईले सरोकारवाला पक्षहरू, आन्दोलनरत संघसंगठनलगायतलाई वार्तामा आउन आग्रह गरेको हो।
आइओईले भदौ ५ गते इन्जिनियरिङको स्नातक तह (बिई) मा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार भएको शुल्क सार्वजनिक गरेको थियो।
अस्वभाविक रूपमा शुल्क बढाइएको भन्दै चौतर्फी विरोध भएको थियो।
आइओईका डिन राम जोशीले जारी गरेको विज्ञप्तिमा शुल्कवृद्धिको विषयमा संस्थानको ध्यानाकर्षण भएको जनाएका छन्।
उनले आन्दोलन गर्ने भन्दा पनि वार्तामा आउन आह्वान गरेका छन्। ‘सारोकारवाला पक्षहरू तथा आन्दोलनरत संघ÷संगठनहरूलाई छलफल तथा वार्तामा सम्मिलित भइ उचित निकाससहित शैक्षिक वातावरण कायम गर्न हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
आइओइले सरकारले दिँदै आएको विकास बजेटमा निरन्तर कटौती, बढ्दो विद्यार्थी संख्या अनुपातमा अपुग शिक्षक कर्मचारी स्थायी दरबन्दी संख्याका कारण शुल्क बढाइएको बताएको छ।
२०५४ सालमा पूर्णशुल्कीय कार्यक्रम सुरूवात गर्दा कायम गरिएको भर्ना शुल्कमा सामान्य हेरेफेर विगत २६ वर्षपछि भएको उसको भनाइ छ।