post-slider post-slider

प्रदेससभा बैठकबाट ‘भागेर’ सत्ता जोगाउने दाउ

Image
A A

काठमाडौंं- मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको कोसी प्रदेसको प्रदेससभा बैठक स्थगित भएको छ।

मुख्यमन्त्री कार्की छलेर बाहिरिएपछि प्रदेससभा बैठक स्थगित भएको हो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेससभा बैठक अब शुक्रबार बस्नेछ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक केही ढिलो गरी सुरू भयो। मुख्यमन्त्री कार्कीले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश र आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि प्रदेसबाट सञ्चित कोषबाट केही रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक पेस गरे।

त्यसलगत्तै रोस्ट्रमबाट उभिएर उनले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूसँग आग्रह गरे। 

विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख बाबुराम गौतमले आधा घन्टाका लागि बैठक स्थगित भएको जानकारी गराए। त्यतिबेला करिब ५ बजेको थियो।

साढे ५ बजे बस्ने भनिएको बैठक बस्दै बसेन। कारण थियो– प्रदेससभा परिसरबाट बाहिरिएका मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरू आउँदै आएनन्।

विश्वासको मतसम्बन्धी प्रस्तावमा दलहरूले राखेको जिज्ञासाको जवाफ तयार पार्ने भन्दै कार्की प्रदेससभाबाट बाहिरिएका थिए।

मुख्यमन्त्री बाहिरिए पनि विपक्षी दलका प्रदेससभा सांसदहरू राति ८ बजेसम्म प्रदेससभा भवनभित्रै कुरेर बसिरहेका थिए। मुख्यमन्त्री आउलान् र विश्वासको मतसम्बन्धी कार्यसूची अघि बढ्ने उनीहरूलाई लागेको थियो।

नेपाली कांग्रेसले विश्वासको मतको सामना नगरेर मुख्यमन्त्री प्रदेससभाबाट भागेको आरोप लगाएको छ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भागेको टिप्पणी गरेका छन्।

‘विश्वासको मत मागेर मुख्यमन्त्री भाग्नुभयो, हामी कुरेको कुर्यै भयौं,’ उनले भने।

प्रदेससभामा विश्वासको मत मागिसकेका मुख्यमन्त्री कार्कीले शुक्रबारसम्म बैठक स्थगित गरिदन सभामुखलाई आग्रह गरेका थिए।

तर, सभामुखले कानुनी प्रक्रियाअनुसार बढ्ने र दलको सहमति अनुसार गर्ने जवाफ दिएपछि सूचना टाँस गरेर साँझ ८ बजेसम्मका लागि बैठक स्थगित गरियो।

त्यसपछि पनि मुख्यमन्त्रीले सदनमा आएर जवाफ दिन र मतदान प्रक्रियामा सहभागी हुन नमानेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।

जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी मन्त्री निर्मला लिम्बुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ।

९३ सदस्यीय प्रदेसभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन जरूरी हुन्छ।

तर, हालसम्म मुख्यमन्त्री कार्कीको पक्षमा एमालेका ४० (उपसभाभुखसहित) र राप्रपाका ६ सांसद गरी ४६ सांसदमात्र रहेका छन्।

विपक्षी गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) ले विपक्षमा मतदान गर्ने निर्णय गरेका छन् भने तटस्थ बस्ने जसपाको निर्णय छ।

जसपाको सहयोग पाउने अपेक्षा गरे पनि त्यसो हुने सम्भावना क्षीण भएपछि कार्की नेतृत्वको सरकार ढल्ने लगभग निश्चित भएको छ।

विश्वासको मत पाउने सम्भावना अन्त्य भएपछि मुख्यमन्त्री कार्की प्रदेससभा बैठक छलेर भागेको विपक्षी दलहरूले आरोप लगाएका छन्।

 

 

Tags: