post-slider post-slider

नेपाली विद्यार्थी फर्काउन परराष्ट्रमन्त्री आफैं पुगे इजयरालय, शव ल्याउन केही समय लाग्ने

Image
A A

काठमाडौं- इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी तनावका कारण इजयारयलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई लिन गएको विमान बिहीबार रातिसम्म नेपाल आइपुग्ने भएको छ।

 उड्डयन प्राधिकारणका अधिकारीहरूले दिएको जानकारीअनुसार नेपाल वायु सेवा निगमको चार्टर गरिएको विमान २५३ नेपाली विद्यार्थीलाई स्वदेश ल्याइँदै छ।

स्वदेश फर्कने चाहने अन्यलाई पनि चाँडै ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

गत शनिबार हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित सयौं जनाको ज्यान गएको थियो।

यो घटनामा थप चार जना घाइते भएका र एक जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको उनीहरूले बताएका छन्।

इजरायलमा रहेका नेपाली विद्यार्थीलाई लिन बिहीबार बिहान काठमाडौंबाट नेपाल वायु सेवा निगमको ९–एन–एएलजेड एयरबस ३३० विमान तेल अभिभ पुगेको थियो।

निगमका अपरेशन निर्देक वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको चालकदल रहेको विमान उद्धार कार्यको नेतृत्व गर्दै परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायलतर्फ गएका थिए।

मन्त्रिपरिषदले इजरायलबाट नेपाल फर्किन चाहने नेपालीहरूको खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमत्री सुदन किरातीलाई उद्धार उडान इजरायलतर्फ पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।

पहिलोपटकमा इजरायलमा रहेका विद्यार्थीहरूको मात्र उद्धार गरिने भएको छ। विशेषगरी इजरायलमा गएर लामो समयदेखि कार्यरत नेपालीरूले स्वदेश फर्कन नचाहेको अधिकारीहरूको भनाइ छ।

त्यसैले पहिलो चरणमा विद्यार्थीहरूको मात्र उद्धार गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बुधबारसम्म ३५० जनाभन्दा बढीले फर्म भरेका भए पनि सबैले स्वदेश फर्कन नचाहेको अधिकारीहरूले बताएका छन्।

बिहीबार २५४ जनालाई स्वदेश फर्काउन लागिएको हो भने बाँकी आउन चाहनेका लागि छुट्टै व्यवस्था गरिने बताइएको छ।

इजरायलमा निधन भएका नेपालीहरूको शव भने ल्याउन केही समय लाग्ने अधिकारीहरूको भनाइ छ।

इजरायलस्थित नेपाली राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले दिएको जानकारीअनुसार इजरायली निकायले नेपालीलाई शव हस्तान्तरण गर्न पनि केही प्रक्रिया पूरा गर्न बाँकी नै रहेको छ।

इजरायलले आफू युद्धमा रहेको घोषणा गरेकाले शव हस्तान्तरणसम्बन्धी प्रक्रियाहरू पूरा गर्न केही हिन लाग्नसक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

Tags: